Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
राजनीति

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा प्रशासनिक अस्थिरता

Jan 14, 2026 2:54 AM
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा प्रशासनिक अस्थिरता

बागमती प्रदेश सरकारअन्तर्गत रहेको श्रम, रोजगार तथा यातायात मन्त्रालय पछिल्लो समय प्रशासनिक अस्थिरताको केन्द्र बनेको छ। मन्त्रालयमा छोटो अवधिमै पटक–पटक सचिव परिवर्तन हुँदा प्रशासनिक व्यवस्थापन कमजोर बनेको देखिएको छ।

मन्त्रालयमा पछिल्लो ५ महिनाको अवधिमा ४ जना सचिवको सरुवा भइसकेको छ। मन्त्रीसँगको सम्बन्ध सौहार्द नहुनु र नीतिगत विषयमा टकराब बढ्नु सचिवहरू छिटो–छिटो सरुवा हुनुको प्रमुख कारणका रूपमा देखिएको छ।

मन्त्री जयराम थापा आएपछि सुरु भयो सरुवा शृङ्खला

एमाले–कांग्रेस गठबन्धनबाट गठन भएको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमालेका जयराम थापा श्रम, रोजगार तथा यातायात मन्त्री बनेपछि मन्त्रालयमा सचिव सरुवाको क्रम सुरु भएको बताइएको छ।

२०८२ भदौदेखि मन्त्रालयमा सचिव अस्थिरता

मन्त्रालयमा सचिवको अस्थिर यात्रा २०८२ भदौबाट सुरु भएको देखिन्छ। २०८१ पुस २५ मा संघीय सरकारबाट सरुवा भएर आएका वीरेन्द्रदेव भारती ले मन्त्रालय सम्हालेका थिए। उनी करिब ८ महिना मन्त्रालयमा रहे पनि २०८२ भदौमा आन्तरिक सरुवामा परेका थिए।

भारतीलाई खेलकुद मन्त्रालयमा सरुवा गरेपछि आफूलाई अपमान गरिएको भन्दै उनी मन्त्रालयमा हाजिर नै नगरी काठमाडौं गएको चर्चा पनि आएको छ। केही दिनपछि पुनः मन्त्रालयमा फर्किएर काम थालेका भारतीलाई फेरि हटाइएको थियो।

बलराम ढकाल १५ दिनमै हटाइए

सरकार परिवर्तनपछि मन्त्री थापाको चाहनाअनुसार २०८२ भदौ १६ मा भारती हटाइएपछि संघीय सरकारबाट आएका बलराम ढकाल लाई नयाँ सचिवको जिम्मेवारी दिइएको थियो। तर उनी मन्त्रालयमा १५ दिन पनि टिक्न सकेनन्।

ट्रायल सेन्टरको टेन्डरट्याक्सी मापदण्ड सम्बन्धी विषयमा मतभेद भएपछि असोज ६ गते पुनः आन्तरिक सरुवामार्फत ढकाललाई हटाइएको थियो।

भारती दोस्रोपटक फर्किए पनि ३ महिनामै फेरि सरुवा

ढकाल हटाइएपछि वीरेन्द्रदेव भारती लाई दोस्रोपटक यातायात मन्त्रालयमै फर्काइएको थियो। उनले असोज ७ मा मन्त्रालय हाजिर भएर बालाजुस्थित यातायात कार्यालयको सेवा विस्तार प्रक्रिया अघि बढाउन पत्राचार गरेका थिए।

तर ट्याक्सी मापदण्डमा ठोस प्रगति नदेखिएको अवस्थामा भारतीलाई तीन महिनापछि प्रदेश नीति तथा योजना आयोगमा सरुवा गरियो।

रामबाबु पुरीसँग मन्त्रीको विवाद, अदालत र अख्तियारसम्म पुगेको विषय

पछि संघीय सरकारबाट आएका रामबाबु पुरी लाई मन्त्रालयको सचिव बनाइयो। तर उनको कार्यकाल पनि विवादरहित रहेन।

मन्त्री थापाले मन्त्रालयकै परिपत्रविपरीत खरिद प्रक्रिया रोक्न निर्देशन दिएपछि सचिव पुरीले त्यसलाई स्वीकार नगरेको बताइएको छ। विवाद बढ्दै जाँदा मन्त्री थापाले सचिव पुरीसहित दुई महाशाखा प्रमुखलाई मन्त्रालय छाड्न निर्देशन दिएको प्रसंग पनि उल्लेख छ।

यस विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताइएको छ।

नयाँ सचिव हेमराज भुसाल

पुस १६ मा सचिव पुरीलाई मुख्यमन्त्री कार्यालय तथा सहकारी मन्त्रालय हेर्नेगरी सरुवा गरिएपछि हाल हेमराज भुसाल नयाँ सचिवको रूपमा मन्त्रालयमा प्रवेश गरेका छन्।

यस्तै सचिव पुरीसँगै श्रम तथा रोजगार मन्त्रालयका उपसचिव विमल भट्टराई को पनि सरुवा गरी उनलाई यातायात व्यवस्था कार्यालय हेटौँडा को प्रमुख बनाइएको छ।

Dhoni Sabuun