विराटनगर । विराटनगरस्थित इडेनबर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा अबु होजाइफा प्रथम भएका छन् । ‘शिक्षा ज्ञान कि प्रमाणपत्र’ विषयमा आयोजित प्रतियोगितामा डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै होजाइफाले प्रथम पुरस्कार जितेका हुन् । प्रतियोगितामा ज्योति मेहता द्वितीय भएकी छन् । इतिफाक आलम र अंकिता शाही तृतीय भएका छन् भने लक्ष्मण खड्काले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कवि तथा पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको प्रतियोगितामा सीमा आचार्य र वासुदेव शर्मा निर्णायक समितिमा थिए । सहभागीको सम्बोधन शैली, विषयवस्तुको ज्ञान, प्रस्तुति, तर्क, खण्डन क्षमता, भाषिक शुद्धता, शब्द चयन, विचारको क्रमबद्धता, निष्कर्ष र समय पालनलगायतका आधारमा मूल्यांकन गरिएको प्रमुख निर्णायक नवोदितले जानकारी दिए ।
उनका अनुसार वादविवादजस्ता सिर्जनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्छ । यस्ता मञ्चले विद्यार्थीलाई आफ्ना विचार स्पष्ट रूपमा राख्ने, तर्क गर्ने र फरक मतको खण्डन गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने उनले बताए ।
कलेज सञ्चालक समितिका अध्यक्ष विष्णु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा विजेता विद्यार्थीलाई अविर लगाएर शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । क्याम्पस प्रमुख दीपेन्द्र साह ‘डीके’, निर्देशक खुसीलाल श्रेष्ठ, कृष्णप्रसाद निरौला, प्रमुख निर्णायक नवोदितलगायतले विजेता विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए । विद्यार्थीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासलाई लक्षित गर्दै कलेजले नियमित रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख साहले बताए । उनका अनुसार कलेजमा कविता, वादविवाद, वक्तृत्वकला, हाजिरीजवाफ तथा खेलकुदलगायतका गतिविधि आयोजना हुँदै आएका छन् । कलेजमा हाल करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई अध्ययनसँगै आफ्ना क्षमता, सिर्जनशीलता र नेतृत्व कौशल प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको कलेजले जनाएको छ ।
