Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

पार्टी बैठकमा कुलमानको स्वीकारोक्ति: नातागोता पर्नेको नाम समावेश गर्नु गल्ती भयो

2025 Dec 31 12:03 PM 106

विज्ञापन

Birat Cancer Hospital
पार्टी बैठकमा कुलमानको स्वीकारोक्ति: नातागोता पर्नेको नाम समावेश गर्नु गल्ती भयो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम समावेश गरेको विषयमा पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने प्रतिबद्धता जनाएका छन्।

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा उनले समानुपातिक सूचीमा नातागोता पर्ने व्यक्तिको नाम राख्नु आफ्नै गल्ती भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बचन दिएका हुन्।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कुलमानले नातेदारहरूको नाम फिर्ता लिन र सूचीमा तल परेका केही नामलाई माथि ल्याउन रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गर्ने बताएका छन्।

सोमबार राति भएको सातबुँदे सहमति अनुसार उज्यालो नेपाल पार्टी रास्वपामा विलय भइसकेको छ। सोही सहमतिपछि कुलमान रवि लामिछानेपछि पहिलो वरीयताका उपसभापति बनेर रास्वपामा प्रवेश गरेका हुन्।

त्यसपछि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा कुलमानले भान्जा पर्ने राम लामा र ससुरा पर्ने धर्मलाल तामाङको नाम समावेश गराएका थिए। उनीहरू उज्यालो नेपाल पार्टीका सदस्यसमेत नरहेको बैठकमा सहभागी केन्द्रीय सदस्यले बताएका छन्।

आफ्नै पार्टीका सदस्यलाई जानकारी नदिई नातावादलाई प्रश्रय दिएको भन्दै केन्द्रीय समिति बैठकमा कुलमानको तीव्र विरोध भएको थियो। बैठकमा बोल्ने १६ जना केन्द्रीय सदस्य सबैले समानुपातिक सूची सच्याउन दबाब दिएका थिए।

“सधैं योग्यताको कुरा गर्ने तर अवसर आउँदा आफ्नै भान्जा र ससुराको नाम घुसाउनु गलत हो,” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, “काभ्रे क्षेत्रमा नातामा सम्धि पर्ने व्यक्तिको नामसमेत राखिएको भन्ने कुरा आयो।”

केन्द्रीय सदस्यहरूका अनुसार उज्यालो नेपालबाट सिफारिस गरिएका केही नामलाई रास्वपाले तल्लो प्राथमिकतामा राखेको विषयमा पनि असन्तुष्टि जनाइएको छ। यस विषयमा पनि सभापति रवि लामिछानेसँग कुरा गरेर सच्याउनुपर्ने दबाब दिइएको छ।

“यदि कुरा नमिले सबै नाम फिर्ता लिन्छु भन्ने बचन कुलमानजीले दिनुभएको छ,” ती केन्द्रीय सदस्यले भने।

यसैबीच, उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको एकताप्रति पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन्। पहिचानको मुद्दालाई केन्द्रमा राखेर राजनीति गर्दै आएका थेगिमले पार्टी विलयको निर्णयप्रति आश्चर्य व्यक्त गरेका हुन्।

कोशी प्रदेशको पहिचानवादी आन्दोलनको नेतृत्व गर्दै आएका र इलाम उपनिर्वाचनमा उल्लेख्य मत पाएका थेगिमले यस एकताले पहिचानको एजेन्डा ओझेलमा पर्ने चिन्ता व्यक्त गरे।

“हामी कुलमानजीसँग पहिचानको मुद्दामा सहमति गरेर साथमा थियौं,” उनले भने, “रास्वपासँग चुनावी सहकार्यसम्मको कुरा थियो, पार्टी नै विलय गर्ने विषयमा कुनै पूर्वजानकारी थिएन।”

थेगिमका अनुसार संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकताजस्ता मुद्दामा रास्वपासँग के सहमति भयो भन्ने स्पष्ट छैन। उज्यालो नेपालको घोषणापत्रमा समेटिएका पहिचान, सामुदायिक समाजवाद र बहुसंस्कृतिवादजस्ता विषय एकतापछि गायब पारिएको उनले आरोप लगाए।

“अस्तित्व नै मेटेर गरिने एकता स्वीकार्य हुँदैन,” उनले भने, “अब के गर्ने भन्ने विषयमा छलफल जारी छ।”

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?