सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयको विरोधमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले जिरोमाइल चोकमा प्रदर्शन गरेका छन्।
धनगढीमाई नगरपालिका–९ स्थित उक्त क्षेत्रमा आइतबार प्रदर्शनकारीहरूले चक्काजाम गर्दै सरकारको निर्णय फिर्ता लिन माग गरेका हुन्। स्थानीयहरूले छोटी भन्सार खारेज गर्ने निर्णयले क्षेत्रीय व्यापार, आवागमन र स्थानीय अर्थतन्त्रमा प्रतिकूल असर पर्ने बताएका छन्।
नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमार्फत सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको थियो। सोही निर्णयपछि स्थानीयस्तरमा विरोध चर्किएको हो।
यसअघि पनि स्थानीयवासीहरूले २५ वैशाखदेखि २७ वैशाखसम्म चरणबद्ध आन्दोलन गरेका थिए। तर, माग सम्बोधन नभएपछि पुनः चक्काजामसहितको प्रदर्शन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
प्रदर्शनकारीहरूले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै छोटी भन्सार कार्यालय सञ्चालनमा निरन्तरता दिनुपर्ने बताएका छन्।
