काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गराएका छन् । आज शनिबार अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघी संसद भवनस्थित निर्वाचन कार्यालयमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
उम्मेदवारी दर्तापछि नेम्वाङले जनताको राष्ट्रपतिको महशुस हुनेगरी काम गर्ने बताए । आठ दलीय गठबन्धनबारे आफूले कुनै टिप्पणी नगर्ने उनले बताए ।
उनले उम्मेदवारी दर्ता गर्न पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको धन्यवाद ज्ञापन गर्दै निर्वाचन आफूले जित्ने विश्वास व्यक्त गरेका छन् । जितपछि संविधानको रक्षा गर्दै जनताको इच्छा र आकांक्षालाई केन्द्रमा राखेर आफूले काम गर्ने प्रतिक्रिया नेम्वाङले दिएका छन् ।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफूहरुले अनुभवी व्यक्तिलाई अगाडि सारेको र एमालेको उम्मेदवार सर्वत्र स्वीकार्य हुने बताएका छन् । उनले आठ दलीय गठबन्धन नबनेको समेत दाबी गरेका छन् ।
ओलीले दलीय स्वार्थका लागि नभएर राष्ट्रिय हितका साथै संविधानको रक्षा र कार्यान्वयनका लागि एमाले अघि बढेको जिकिर गरे । २०५६ सालदेखि इलामबाट लगातार निर्वाचन जितेका नेम्वाङ चार पटक सभामुख भइसकेका छन्। दुइटै संविधान सभामा उनी अध्यक्ष थिए। उनी २०५१ सालमा एमाले नेतृत्वको सरकारमा कानूनमन्त्री बनेका थिए। २०४८ सालपछि २ कार्यकाल राष्ट्रिय सभा र २०५६ देखि निरन्तर प्रतिनिधि सभामा रहेका नेम्वाङ एमालेभित्र सबभन्दा बढी संसदीय अनुभव भएका नेता हुन्।
