विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा हिजोदेखि भएको शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । मंगलबार एल केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले आ–आफ्नो प्रदर्शनी गरेका थिए भने आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले गरेका हुन् । वर्षभरि पाठ्यक्रममा पढेका विषयवस्तुहरूलाई व्यवहारिक रुपमा विभिन्न परियोजना मार्फत विद्यार्थीहरुले सक्षमता प्रस्तुत गरेका हुन् । विभिन्न विषयका परियोजनाहरु अभिभावकलाई अवलोकन गराउँदै विद्यार्थीहरुले आफ्ना परियोजनाहरुको विषयमा जानकारी गराएका थिए ।
कृयाकलापमा आधारित सिकाई पद्धति अवलम्वन गर्दै आएको एभरेष्ट स्कुलले विद्यार्थीलाई हरेक विषयमा ६–६ वटा परियोजना बनाउन लगाएको थियो । भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार गणित, नेपाली, सामाजिक शिक्षा, विज्ञान, अंग्रेजी, कम्प्यूटर, कला तथा कारखाना विज्ञानका विषयका पाठ्यक्रममा आधारित विषयवस्तुहरूलाई विद्यार्थीहरुले विभिन्न प्रोजेक्ट बनाएका हुन् । जहाँ नेपाली संस्कृति, भौगोलिक अवस्थिति देखि विज्ञानका नविन आविस्कारहरुको समेत परियोजनाहरु विद्यार्थीले प्रस्तुत गरेका छन् ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यार्थीले साच्चै सिकेको छ कि छैन भन्ने बुझ्नको लागि पनि प्रदर्शनी प्रभावकारी भएको बताउनुभयो । विद्यार्थीहरुका हरेक परियोजना र त्यसको बिषयमा विद्यार्थीले गर्ने ब्याख्या सुन्नुभएका उहाँले विद्यार्थीले सक्षमता प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘जति पनि परियोजना छन्, त्यसमा उनीहरुले गरेको मेहनत छ, जसरी परियोजनाका विषयमा बुझेर बुझाएका छन् यसले सक्षमता पुष्टि हुने बताउनुभयो ।
प्रिन्सिपल पुरीले कृयाकलापमा आधारित अध्यापन भनेकै यहि हो भन्दै उहाँले यसले विद्यार्थीमा हौसला थपिने, आत्मविश्वास बढ्ने, सामुहिक कृयाकलाप गर्न प्रेरित गर्ने मात्र नभई तार्किक समेत बनाउने बताउनुभयो ।
यस्तै अभिभावक धर्मराज ढकालले एभरेष्टको शैक्षिक प्रदर्शनी हेरेपछि विद्यालयले गरेको मेहनत स्पष्ट हुने बताउनुभयो । उहाँले भन्नुभयो, दर्जनौं प्रोजेक्टहरू हेर्दा यहाँका विद्यार्थीले विश्वसँग प्रतिष्पर्धा गर्न सक्छन् भन्ने अनुभूति भयो ।’
त्यसो त विद्यार्थीहरूसमेत आफ्ना परियोजनाहरु आफ्ना अभिभावकलाई देखाउन पाउँदा अत्यन्तै खुसी भएका छन् । कक्षा ७ की आरोही रायले यो प्रदर्शनीले नयाँ नयाँ कुराहरु सिकाएको बताउनुभयो । अझ परियोजना अभिभावकलाई बुझाउँदा सञ्चार गर्ने कला समेत अभिवृद्धि भएको छ । यस्तै अर्की छात्रा अविशा भण्डारीले हरेक वर्ष एभरेष्टले गर्ने शैक्षिक प्रदर्शनीले नयाँ–नयाँ कुरा सिक्न अवसर प्रदान गरेको बताउनुभयो । छात्र अनमोल बरालले भने प्रदर्शनीमा आफूहरुले गरेको मेहनत अभिभावकले अवलोकन गरेर प्रशंशा गरिदिँदा अत्यन्तै उर्जा थपिएको बताउनुभयो । विद्यार्थीहरुले परियोजनाको ब्रिफिङ सँगै अभिभावकहरुलाई विभिन्न खेल खेलाउँदै उपहार दिँदै मनोरञ्जन गराएका थिए ।