मधेशका ४३ प्रतिशत कृषक परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खानै पुग्दैन
जनकपुर । अन्नभण्डारका रुपमा रहेको मधेश प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको हो । नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेशका आठ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय ९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरी खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ । तथ्याङ्कले धेरैजसो कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ । जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ । मधेश प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ । कृषक परिवारअन्तर्गत मधेशमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २ दशमलव ९ देखाएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ । यहाँ एकबाली सकिनासाथ अर्को बाली लगाउने अर्थात् बाली सघनता १ दशमलव ८७, स्थायी बालीका रुपमा रहेका आँप, केरा र कागती क्रमशः १५ हजार चार सय ३३ हेक्टर, एक हजार एक सय ८३ र एक सय ३७ हेक्टर छ । कृषि गणनाको विवरणअनुसार कृषि कार्यका लागि उपकरण प्रयोग गर्ने किसानको सङ्ख्यामध्ये ट्र्याक्टर ६४ दशमलव सात, फलामे हलो २० दशमलव आठ र पावरट्रिलर चार दशमलव सात प्रतिशत छ । त्यस्तै, प्रदेशमा १६ दशमलव दुई प्रतिशत कृषक परिवारले कृषि प्रयोजनका लागि ऋण लिएका, एक दशमलव दुई प्रतिशतले मात्रै कृषि बीमा गरेका र तीन दशमलव सात प्रतिशतले सरकारी अनुदान पाएका छन् । यहाँ मुख्य कृषकमा ८५ दशमलव आठ प्रतिशत पुरुष र १४ दशमलव दुई प्रतिशत महिला रहेको छन् भने कृषक परिवारमध्ये ३० दशमलव एक प्रतिशतले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने गरेका छन् । त्यस्तै, मधेशमा गाईगोरुको सङ्ख्या करिब तीन लाख ८० हजार, राँगाभैँसीको सङ्ख्या करिब पाँच लाख २९ हजार, बाख्रा, खसी, बोका, च्याङ्ग्राको सङ्ख्या करिब १४ लाख ४८ हजार तथा कुखुराको सङ्ख्या करिब २४ लाख ६१ हजार रहेको पनि तथ्याङ्कले देखाएको छ ।
ट्रेन्डिङ
कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6
