मोरङको उर्लाबारी नगरपालिका–३ का ३७ वर्षीय सनम तामाङको बुधबार राति उपचारकै क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासक गौरव ढुङ्गेलका अनुसार मंगलबार राति करिब १० बजे तामाङलाई एक्कासी गम्भीर श्वासप्रश्वास समस्या देखिएपछि उनलाई विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचार जारी रहँदै गर्दा बुधबार राति उनको निधन भएको हो।
ढुङ्गेलका अनुसार तामाङलाई पहिलेबाटै स्वास्थ्य समस्या थियो र उनी नियमित औषधि सेवन गर्दै आएका थिए। पछिल्लो समय स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारीसमेत गरिएको थियो। बिहीबार बिहान काठमाडौं लैजाने योजना भए पनि त्यसअघि नै उनको मृत्यु भएको प्रशासनले जानकारी दिएको छ।
तामाङ लागूऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालत मोरङले उनलाई दुई वर्ष छ महिना कैद सजाय सुनाएको थियो। अदालतको आदेशपछि २०८१ असोज १६ गते कारागार पठाइएका उनी २०८३ माघ २७ गते रिहा हुने तय थियो।
हाल जिल्ला कारागार मोरङमा १ हजार १७५ कैदीबन्दी रहेका छन्, जसमा १०२ जना महिला रहेको प्रशासनले जनाएको छ।
