विराटनगर। कोसी प्रदेशका पूर्वसभासदस्य विन्दीया कार्कीलाई कोसी प्रदेश सरकारले कोसी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा चयन भएकी छन । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा शुक्रबार सम्पन्न मन्त्रीपरिषद् बैठकले बोर्डको उपाध्यक्षमा कार्कीसहित सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त गरिएको स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले जानकारी दिए । यसअघि उपाध्यक्षमा जिनाजङ कार्की रहेकी थिइन् ।
हाल उनी अमेरिकामा रहेकी छन् । त्यसैगरी, बैठकले प्रदेशका सबै जिल्लाबाट समान १ जना उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको मन्त्री सुनुवारले बताए । महिला उद्यमी सम्मानसँगै मन्त्री सुनुवारले प्रदेश सभाका दुई जना सदस्यलाई कुटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकी निर्माणका लागि बजेट दिने स्वीकृत प्रदान गरेको मन्त्री सुनुवारले जानकारी दिए ।
मन्त्री सुनुवारका अनुसार बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँट गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरि, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताएका हुन् । बैठकले आउँदो वर्ष २०८१ मा पाँच दिन सार्वजनिक विदा दिने प्रस्ताव स्वीकृत गरेको छ ।