बर्जु। सुनसरीमा एक मन्दिरको नाममा रहेको जग्गा व्यक्तिले आफनो नाममा पास गरेपछि कोशी प्रदेशको संसददेखि चिया पसलसम्म चर्चाको विषय भएको छ। केही वर्षअघि नौ कठ्ठा जग्गा ईश्वरीमाया सुवेदीले मन्दिरलाई दान दिनु भएको थियो । तर आजभोलि सो जग्गा मन्दिर सञ्चालन समितिमा रहेका व्यक्तिले आफन्तको नाममा मनोमानी ढंगले राजीनामा पास गरि दिएपछि तनावको विषय भएको छ ।
बर्जु गाउँपालिका- १ स्थित शुक्रहाट नजिक रहेको रामजानकी मन्दिरको जग्गा व्याक्तिले आफ्नो नाममा गराएको खुलासा भएको छ। स्थानीय सुवेदीले मन्दिरलाई दिएको जग्गा त्यहीँका स्थानीय बेलीदेवी यादवको नाम गरिएको हो । सुवेदीले दिएको किता नं. २ (क) १२९-०-९-० बर्जु गाउँपालिका-१ हुलाकी सडकमा अवस्थित रामजानकी मन्दिरको नाममा नामसारी भएको देखिन्छ ।
मन्दिर सञ्चालन समितिमा बर्जु -१ का खटर यादव, गुरुदयाल चौधरी र बर्जु -२ का विहारी कामत रहेका छन् । तर समितिमा रहेका व्यक्ति खटर यादवले नक्कली कागजात समेत बनाएर सट्टापट्टा गरेर उक्त जग्गा उनकी आमा बेलदेवीको नाममा नामसारी गरेका छन् । पछि फेरि कागज मिलाउँदै आमाको नाममा रहेको सोहीे जग्गा अहिले कान्छा छोरा भटाय यादवलाई नामसारी गरेको खुलेकाे छ ।
केही स्थानीयका अनुसार उक्त जग्गा हुलाकी राजमार्गले छुने भएकाले महँगो मूल्यको छ । जग्गाको मूल्य पाँच करोड रुपियाँ बराबर पुगेको छ । तर खटर यादवले बठ्याइँ गर्दै सडकले पनि नछुनेृ भित्री भागको नौ कठ्ठा जग्गा देखाएकोृ केही स्थानीयबासीको गुनासो छ । खटरले महँगो मूल्य पर्ने जग्गा कब्जा गरेको स्थानीयबासीको ठोकुवा छ ।अहिले खटरले देखाएको जग्गाको मूल्य प्रतिकठ्ठा एकलाख पनि पर्दैन । तर समितिका पदाधिकारी मिलेर आफ्न्तको नाममा पटकपटक नामसारी गरेको जग्गा पाँच करोड मूल्य बराबरको छ ।
खटर यादवलगायत तीनजना मिलेर हिनामिना गरेकोृ महँगो मूल्य पर्ने जग्गा फिर्ता हुनपर्ने गाउँपालिकादेखि सदनमा आवाज उठेको छ । जग्गा मनोमानी गरेको भन्दै कोशी प्रदेशसभा सदस्य डा हाजी इस्राइल मन्सुरीले सरकारको ध्यानाकर्षण गराएका छन् । कोशी प्रदेशसभा अन्तर्गत आइतबार शून्य समयमा मन्तव्य राख्दै उनले ध्यानाकर्षण गराएका हुन । सांसद मन्सुरीले मनोमानी गरेर व्यक्तिको नाममा बनाइएको जग्गाको छिनाफानो चाँडो गर्न सरकारलाई सुझाएका छन् ।