विराटनगर । एशोसियशन अफ प्राइबेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले जाजरकोट भुकम्प पीडितका लागि सहयोगको हात अघि बढाएको छ । अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमानसिंह कार्कीले एक विज्ञप्ति जारी गर्दै एसोसियसनअन्तर्गत रहेका १५ मेडिकल कलेज र २ वटा डेन्टल कलेजमा आएका घाइतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् ।
विराट नर्सिङ होमका अध्यक्ष समेत रहेका कार्कीले सरकारले पीडितको सहयोगका लागि पत्रचार गरेमा एसोसियसन स्वास्थ्य क्षेत्रमा सबै प्रकारको निःशुल्क सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएका छन् । एशोसिशनले सम्पर्क तथा आवश्यक सहयोगको कामका लागि महासचिव भिमबहादुर चन्द, मोबाइल नं. ९८४१३२८७२९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भई गएको भुकम्पका कारण मृत्यु हुने नागरिकप्रति एशोसियशनले श्रद्धाञ्जली व्यक्त गरेको छ । यस्तै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।