सुन तस्करी अनुसन्धान गर्न सीआईबीको टोली हङकङदेखि भारतसम्म खटियो

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरो ९सीआईबी०ले तीब्रता दिएको छ ।तस्करी प्रकरणमा संलग्न आरोपीमाथि संगठित तस्करी कसुर मुद्दामा अनुसन्धान थालेको सीआईबीले आरोपितलाई ६० दिन थुनामा राखेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बुझाउनुपर्ने हुन्छ ।
सोही समय सीमाका कारण सीआईबीले विभिन्न प्रहरी कार्यालयमा खटिएका संगठित तस्करी अनुसन्धानमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीलाई झिकाएर अनुसन्धानलाई तीव्रता दिएको हो ।२ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेक सू मार्फत लुकाएर भन्सार पास भएको उक्त ६० किलो सुन बरामद गरेको थियो ।
सुन तस्करी प्रकरणमा अन्तरदेशीय अपराध र संगठित तस्करी देखिएपछि अनुसन्धान गर्न २१ साउनमा सीआईबीलाई जिम्मा दिएको थियो । हालसम्म राजस्व अनुसन्धान विभाग र सीआईबीले गरेर कुल २५ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा याहो पेचिङ्गसहित ६ जना चिनियाँ नागरिक, एक तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ र अर्का तिब्बती मुलका भारती नागरिकसहित अन्य नेपाली नागरिक छन् ।
उनीहरू माथिको अनुसन्धान गर्न अब सीआईबीसँग दुई हप्ताभन्दा कम समय छ । सुन तस्करीको सन्जाल हङकङदेखि भारतसम्म देखिएपछि प्रहरी प्रधान कार्यालयले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोगमा हङकङ र भारतमा समेत प्रहरी अधिकारी पठाएको छ ।
सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले भारतमा समेत शुक्रबार सीआईबीमै कार्यरत डीएसपी धर्म भण्डारीलाई पठाएको छ । सुन तस्करीको केन्द्र हङकङ रहेको र उक्त सुन नेपाल हुँदै भारत पुग्ने गरेको सीआईबीको दाबी छ । २५ जना पक्राउ गरेको सीआईबीले सुनका मालिक याहो पेचिङ रहेको दाबी गरेपनि सुन खरिद गर्ने मूख्य आरोपीसम्म भने अझै पुग्न सकेको छैन ।
सुन तस्करी प्रकरणमा सीआईबी बाहेक जिल्ला प्रहरी कार्यालय धुनकुटाका एसपी कृष्ण कोइराला, प्रहरीको विशेष ब्युरोका प्रमुख डीआईजी रामदत्त जोशी, प्रहरीको इन्टरपोल शाखा प्रमुख अनुपम जबरासमेतको टोली लागेको छ । त्यो बाहेक टेक्निकल विश्लेषण गर्ने टोलीसमेत ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा खटिएका छन् । सीआईबीले हाल पक्राउ परेको समूहले ठूलो मात्रामा सुन तस्करी गरेको आशंका गरेको छ ।
Leave a Reply