धान नरोपिएपछि पिरोलिए माझीटारवासी

धान नरोपिएपछि पिरोलिए माझीटारवासी

पाँचथर: हिलिहाङ गाउँपालिका–७ माझीटारका वीरबहादुर माझी घर नजिकैको खेतमा मकै छर्दै हुनुहुन्छ । अघिल्ला वर्षहरूमा यतिबेला धान रोपिइसक्ने खेत यस वर्ष अहिलेसम्म बाँझै भएपछि मकै फल्ने आशाले उहाँ धमाधम मकै छरिरहनुभएको छ । “पोहोर साल यतिबेला यहाँ धान हरियो फिरिसकेको थियो । अहिले मकै उम्रेला कि भनेर छरिरहेको छु”, वीरबहादुरले भन्नुभयो, “धान रोप्नलाई तत्कालै कुलो निकाल्न सकिने अवस्था छैन ।”
सोही स्थानका समशेरबहादुर माझी पनि मकै छर्न धमाधम हुनुहुन्छ । “धानको ब्याड गोरुलाई खुवाइसकेँ । अब के चाहिँ गर्ने र रु”, समसेरबहादुरले भन्नुभयो, “दुई दिन लगाएर मकै छरेँ । पुलदेखि वारिपारि सबै खेत बाँझिने भए ।”
माझीटारकै जसबहादुर माझीको बालुवाले पुरिएको खेत यसपालि बाँझै हुने अवस्था छ । “कहिल्यै बाढी नआउने ठाउँमा बाढी पस्यो । यसपालि खेतमा कमाइ लगाउन सक्ने स्थिति छैन”, जसबहादुरले भन्नुभयो, “हेंवा खोलाको सिम्ले र माझीटारमा यसपालि धान फल्ने स्थिति छैन ।”
गत असार पहिलो साता आएको बाढीको वितण्डाले यसपालि फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमावर्ती माझीटारका खेतमा धान रोपाइँ हुने छैन । यहाँ कतै बाढीले खेत कटान गरेको छ भने कतै ढुङ्गामुढा खेतमा थुप्रिएका छन् । बाँकी रहेको खेतमा पानी ल्याउने कुलो बाढीले बगाइदिएको छ । केही धान फल्ने खेतमा तमोर कोरिडोर सडकबाट पहिरो झरेर पुरेको छ ।
माझीटारको हिलिहाङ गाउँपालिकातर्फ हेंवा खोलाबाट ल्याइएको झण्डै डेढ किलोमिटर लामो कुलो खोलाको आसपास बाढीले बगाएको छ । खेततर्फ तमोर कोरिडोर सडक निर्माणका क्रममा खनिएको ढुङ्गा माटो भीषण वर्षाका कारण पहिरो बनेर कुलो र खेतमाथि झरेको छ । फिदिमतर्फ तमोर कोरिडोर सडकसँगै रहेको कुला बाढीले बगाएको छ । बाढी पहिराका कारण धान नरोपिने भएपछि यहाँका बासिन्दाहरू अहिले धमाधम मकै छरिरहेका छन् । असार अन्तिम साता धान रोपाइँ हुने यहाँ अघिल्ला वर्षहरूमा यतिबेला धान हरियो फिरिसकेको हुने स्थानीयवासी बताउँछन् ।
माझीटारका चन्द्रबहादुर माझीका अनुसार साहुका खेतमा माझी परिवारले बन्धकी, अधिँया, कुत तथा ब्याज मराउनीमा जग्गा लिने गरेका छन् । यहाँ बसोबास गर्ने ४१ घरपरिवार माझीमध्ये अधिकांश खेती गर्ने गर्दछन् । केहीले सानो तिनो व्यापार व्यवसाय चलाउँदै आए पनि मूल पेशा भने कृषि नै हो । तर धान नरोपिने र खोलामा माछा मासिएपछि भविष्यको चिन्ताले माझी समुदाय पिरोलिएको छ ।
माछा मारेर बिक्री गर्ने आफ्नो परम्परा मासिएका कारण वैकल्पिक पेशा समेत नरहेको वीरबहादुरको दुःखेसो छ । “चामलको दाम बढेको बढ्यै छ । खोलामा माछा पनि सिद्धिहाल्यो । न त जागिर नै छ”, वीरबहादुरले भन्नुभयो । आफ्नोमात्रै १५ मुरी धान फल्ने खेत बाँझिएको वीरबहादुरको भनाइ छ । यहाँ पाँच सय मुरीभन्दा बढी धान फल्ने खेत बाढीका कारण बाँझिएको उहाँले बताउनुभयो । बाढीले माझी समुदायले छरेका मकै पनि बगाएको छ । “पाक्न लागेको मकै बाढीले बगाइदियो, धान फल्ने त आशै रहेन”, चन्द्रबहादुरले भन्नुभयो ।
पाइप लगाएर कुलो सञ्चालन गर्ने सम्भावना रहे पनि त्यसका लागि आफैँले लगानी जुटाउन सक्ने अवस्था नरहेको र सरकारी निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ । “हामीले भन्न चाहिँ सबै ठाउँमा भनेका छौँ । सबै लागेर हामीलाई सहयोग गरिदिनु प¥यो”, ६५ वर्षीय जसबहादुरले भन्नुभयो । यद्यपि यसै वर्ष धान रोपिने अवस्था नरहेको माझीटारवासी वताउँछन् ।
जीविकोपार्जनका सबै माध्यमहरू धराशायी बनेपछि माझी समुदाय सहयोगको अपेक्षा लिएर बसिरहेका छन् । “सरकारले पनि थोरै थोरै त राहत दिनुपर्ने हो । हामी सबैभन्दा पछाडि परेका मानिस छौँ यहाँ”, चन्द्रबहादुरले भन्नुभयो, “हाम्रो अरु खेती छैन । पाखाबारीमा घर बनाएका छौँ । हामी कहाँ बाँच्ने स्थिति आउँछ रु राहत माग्न जाँदाजाँदै हाम्रो जिन्दगी बित्ने पो हो कि रु”
बाढी र पहिराका कारण यहाँ एक सय रोपनीभन्दा बढी खेतमा क्षति पुगेको छ । तटीय क्षेत्रका खेतीयोग्य जमिन खोलाले कटान गरेको छ । कतिपय खेत बाढीका कारण खण्डहर बनेका छन् । माझीटारको बस्तीभन्दा माथिबाट अघि बढेको तमोर करिडोर सडक निर्माणका क्रममा निस्किएका ढुङ्गामाटो वर्षाका कारण यसपालि पहिरो बनेर खेतमा झर्दा झनै ठूलो क्षति पुगेको अर्का स्थानीयवासी प्रकाश माझीले बताउनुभयो ।
माझी समुदायका अगुवा जसबहादुरका अनुसार २०२५ सालमा आएको बाढीले माझीटारका कतिपय खेत पुरिएका थिए । तर सो बाढीमा पनि अहिलेजस्तो क्षति नपुगेको जसबहादुरको भनाइ छ । “म १० वर्षको थिएँ होला त्यो बेला । बाढीले  खेतहरू पुरेको थियो । तर अहिलेजस्तो बगाएर लगेको थिएन”, उहाँले भन्नुभयो, ‘यसपालि त कहिल्यै नभोगेको कुरा आइलाग्यो ।”
माझी समुदायका लागि फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले नीति तथा कार्यक्रमहरूमा जीविकोपार्जनमा मद्दत गर्ने कार्यक्रम राख्ने गरे पनि परिणाम देखिने कुनै काम गर्न सकेका छैनन् । तमोर र हेंवाको तटीय क्षेत्रका खेतमा परम्परागत कृषि उपज उत्पादन गर्ने माझी समुदाय विकास निर्माण तथा दैवी विपत्तिमा भने सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.