सौराहा, चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आज केन्द्रिय सदस्यको नाम छनौट गरी बन्द सत्रबाट अनुमोदन गर्ने भएका छन् । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको एक नेताले बताए ।
अध्यक्ष ओली निकट मानिएका केही नेताहरुले केन्द्रीय सदस्यहरुको सूची बनाउन छलफलमा जुटी अध्यक्षलाई ३०१ जना केन्द्रिय सदस्यको नामलिष्ट बुझाएका छन् । ४ नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई अध्यक्ष ओलीले सहमतिको खाका बनाउन गृहकार्य दिएका थिए ।
तर नेकपा एमालेको चितवनको सौराहामा जारी दशौँ महाधिवेशनको बन्द सत्रको दोश्रो दिनको कार्यक्रम अझै सुरु हुन सकेको छैन । शनिबारबाट सुरु भएको बन्दसत्र आज बिहान १० बजेसम्मका लागि स्थगित भएको थियो । एमाले महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रुपमा केन्द्रीय समिति सहित आयोगका प्रमुखहरु छान्न अधिकार दिएको थियो । आजको बन्दसत्रमा ओलीले सर्वसम्मतीका लागि नामहरु प्रस्तावित गर्दैछन् ।