सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौं/ मधेसी मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने परिस्थिति नरहेको सत्तारुढ दलले निश्कर्ष निकालेका छन् ।

    प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बिहान बसेको प्रमुख सत्तारुढ दुई दलको बैठकले चुनाव घोषणा अब ढिलाई गर्न नहुने निश्कर्ष निकालेका हुन् । संविधान संशोधन गरेर निर्वाचनमा जाँदा ढिलो भन्दै तत्काल मिति घोषणा गर्ने सहमति गरिएको हो । शनिवार मधेसी मोर्चाका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा संविधान संशोधन नगरी चुनाव घोषणा गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाका नेताहरुले चेतावनी दिएका थिए ।

            सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । अहिलेको अवस्थामा संविधान संशोधन गरेर चुनाव सम्भव नभएको कांग्रेस र माओवादीका नेताहरुको निश्कर्ष रहेको बताइएको छ ।

बैठकले अबको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताइन् । मन्त्रिपरिषद् बैठक सोमबार वा मंगलबार बस्नेछ ।

सरकारसँगको शनिबारको छलफल मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको प्रक्रिया टुंग्याएर मात्र निर्वाचन गर्नुपर्ने अडान राखेको थियो । तर, निर्वाचन आयोगले यसअघि दिएको सुझावलाईध्यानमा राखेर सरकारले पहिले निर्वाचनको मिति घोषणा गर्ने र मधेसी मोर्चासँग निरन्तर छलफल गर्ने भएको छ । आगामी जेठ १ र २१ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले फागुन ८ गतेभित्र मिति घोषणा गर्न भनेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री शशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *