हाेमपेज > फल्यास न्यूज > बेहुला बनेर गए,लास बनेरआए; पश्चिम रुकुममा दलित युवकको हत्या घटना

बेहुला बनेर गए,लास बनेरआए; पश्चिम रुकुममा दलित युवकको हत्या घटना

 

गत शनिवार साँझ प्रेमिका लाई बेहुली बनाएर घर भित्र्याउने सपना साँचेर जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका  नवराज बिकको त्यो सपना माया प्रेमका दुश्मनहरुले चकनाचुर पारिदिए । आज उनी  लास  बनेर अस्पतालको शवगृहमा छन् । उनीसँग जन्तीका रुपमा पुगेका उनका छिमेकी टिकाराम बिक पनि आइतबार साँझ  भेरी नदीमै मृत फेला परेका छन् ।

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४  रानागाउँका २१ वर्षीय विकले रुकुम पश्चिम चौरजाहरी नगरपालिका वडा नम्वर ८ की  १७ वर्षीया युवती सँग प्रेम सम्बन्ध थियो ।

उनकी प्रेमिकाले घरदेखि तल लिन आउनु भनेपछि नवराजले आफुहरुलाई बोलाएर लिन गएको र गाउँलेहरुको आक्रमणबाट भागेर बाँच्न सफल महेश कार्कीले बताए  ।

अहिले चौरजहारी ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका १२ जना मध्येका कार्कीले भने, ‘नवराज उमेरमा मेरो दाजु पर्छन् । उहाँ र ठकुरी थरकी केटीसँग प्रेम सम्बन्ध छ भन्ने कुरा मलाई पनि थाह थियो । शनिवार साँझ त्यही केटी लिन जाँदैछौं आउनुप-यो भनेर बोलाएपछि हाम्रो टोलबाट ६ जना गयौँ । त्यहाँ पुग्दा अरु १० जना जम्मा भइसकेका रहेछन् ।  त्यसपछि अरु तीन जना थपिए पछि  १९ जना भएर गयौँ ।  सबैलाई दाई ( नवराज ) ले बेहुली लिन जानुप-यो  भन्दै हुनुहुन्थ्यो ।’

केटीको घरमा नपुग्दै माथि घरबाट आफूहरुमाथि ढुंगामुढा भएको सुनाए ।

‘मैले ती युवतीको घर देखेको थिएन । उनलाई चिनेको भने थिएँ । उनको घरदेखि तलबाट बाटोमा पुग्न साथ माथि घरबाट एक्कासी एउटी महिला चिच्याएको आवाज आयो । साला फेरि  आए डुमहरु…… तिमीहरुलाई आज मारेरै छाड्नुपर्छ भन्दै चिच्याएपछि अरु दुई तिन जना मानिसहरु देखिए,’ उनले भने, ‘उनीहरुले माथि घरबाट ढुंगा मुढा गर्न थालेपछि हामी भाग्यौँ । रात परिसकेको थियो । त्यसक्रममा  पछाडि फर्केर हेर्दा  गाउँ नै उर्लिएर आएको देख्यौँ । दायाँबायाँ लुक्ने भाग्ने ठाउँ थिएन । भेरी नदीतिर भाग्यौँ ।  १९ जना मध्ये भेरी नदीमा हाम्फाल्ने ११ जना थियौं । ५ जना नदी तर्न सफल भयौं ।

कार्कीका अनुसार नदीमा हाम फालेका ६ जना बेपत्तामध्ये दुई जनाको मृत्यु भइसकेको छ । केही साथीहरुलाई गाउँलेहरुले कुटेर प्रहरीमा बुझाए  । नदीमा हाम्फाल्दासम्म माथिबाट ढुंगा बर्साउँदै थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक कविराज रोकायाले आफू ती किशोरी र बाबुआमालाई नियन्त्रणमा  लिई बयान लिइरहेको उनले बताए  ।

उनीहरुबीच प्रेम सम्बन्ध रहेको पाइएको र घटनाको अनुसन्धान भइरहेको बताए ।  उनका अनुसार यो समाचार तयार पार्ने बेलासम्म बेपत्ता अझै फेला परेका छैनन ।

यहाँबाटसुरुहुन्छयीजोडीकोप्रेमसम्बन्ध

मृतक बिकका परिवारजनका अनुसार गत पुस महिनामा रुकुममा आयोजना गरिएको महोत्सवले जुराएको  थियो त्यो जोडीको पहिलो भेट । त्यस अघिसम्म  उनीहरुको सम्बन्ध के थियो भन्नेबारे परिवारजनलाई थाह छैन । भर्खर १६ पुगेर १७ मा लागेकी थिइ न् नवराजकी प्रेमिका   ।

यसैवर्ष एसईई दिने तयारीमा छिन् । नवराजले कक्षा १२ उत्तिर्ण गरेर प्रहरी सेवातर्फ प्रवेश गर्ने तयारी गर्दै थिए । नवराजकी दिदी सरिता बिकका अनुसार ति किशोरी परिवारलाई समेत आफुहरुको प्रेम सम्बन्धको बारेमा जानकारी दिने गरी त्यसै रुकुम महोत्सवमा आएको दिन नवराजको घरमा बस्न आएकी थिइन् । उनी त्यस बेला तीन दिन र  दोश्रो पटक पनि आएर चार दिन बसेर गएकी थिइन् । चैत्र महिनामा उनका भाइ पनि एक हप्ता बसेर गएका थिए ।

‘त्यतिबेला तिम्रो बाबुआमाले स्वीकार गर्न सक्दैनन् भनेर हामीले सम्झाएका हौं,’  दिदी सरिताले भनिन् ,’ केही हुन्न हाम्रो बुवा पनि माओवादी हो  । जातपातको कुरा गर्नु हुन्न । अहिले भर्खरै हामीले विवाह गर्दैनौं, ८ वर्षपछि गर्ने हो भन्दै थिइन् ।’

ति किशोरीका बाबुले पनि आफूले जातीय कारणबाट उनीहरुको सम्बन्ध टुटाउन नचाहेको बताए । उनले भने, ‘त्यसो होइन छोरीको उमेर भर्खर अहिले १७ वर्षको भयो । यसपाली एसईई दिने तयारीमा छ । त्यसैले मैले अहिले विवाह नगर भनेको हुँ ।’

‘केही दिन यतादेखि ती दुई बीचको सम्बन्ध टाढिएका थियो ।  उसको फोन ब्लक गरेर बसेकी थिइन् ।   उसले बोलाएर होइन, उनीहरु आफै आएका हुन् । गाउँलेहरुलाई मेरी श्रीमतीले नबोलाएको भए यत्तिका जन जुटेर आएकाहरुले हामीलाई नै मारेर फल्थे । त्यसैले गाउँले लखेट्ने क्रममा आफै भेरी नदीमा हामफालेको हुन्,’ उनको यस्तो जिकिर थियो ।

उनले गत वैशाख १७ गते पनि नवराज र उनका केही साथीहरु छोरी बसेको कोठामा आएर ढुंगा फालेको थाह पाएपछि प्रहरी बोलाएर पठाएको बताए । ती किशोरीकी आमाले पनि आफुहरुलाई ती केटाहरूले मार्ने डरले गाउँले बोलाएको बताइन् ।

छोरी र  उनको सम्बन्ध पहिल्यै  छुटिसकेको उनको भनाइ थियो । ती किशोरीले पनि आफुले नबोलाएको दावी गरिन् । ‘मैले बोलाएकी होइन ऊ आफै आएको हो ।  मेरा  उससँग सम्बन्ध थियो ।  फागुन महिनामा म उसको घरमा बस्न गएकी पनि हुँ । म सरी भन्छु  । हो केहि समयसम्म म उसँग नजिक थिएँ तर पछि मन परेन र छाडेकी हुँ,’ उनले भनिन् ।

पेटमाबच्चाभनेकोसमेतसुनिन्आमाले

मृतक नवराज बिककी आमाले आफूले पनि ती किशोरीलाई घरमा आउँदा निकै सम्झाएको बताइन् । ‘तिमीहरु ठकुरी ठूला जातका हामी दलितसँग विवाह गर्न राम्रो हुन्न भन्दा पनि दुबैले मानेनन् । म शनिवार घर भएको भए मैले जानै दिँदैन थिएँ । पहिला गयो र प्रहरीलाई बुझाए फेरि त्यस्तै गर्लान् भनेर मैले रोक्ने थिएँ । त्यो केटीले लिन बोलाएकी छ जाऊँ भनेछ र साथीहरु लगेर गएछ  । त्यो केटीको घर नपुग्दै मेरो छोरालाई गाउँलेहरुले घेर्दै कुट्दै गरेर भेरी नदीमा फाले छन्,’ नवराजकी आमाले भनिन् । उनले केही दिनअघि मात्र घरमा  नवराज र ती किशोरी बीच फोनमा कुरा भएको सुनाइन् ।

‘मेरो बाबु आमाले अन्तै बिहे गराइदिन लागेका छन् । पेटमा छ भन्दै थिइन् । यताबाट छोराले मेरो बच्चा मलाई चाहिन्छ । अरु मलाई केही चाहिँदैन  भन्दै थियो,’ उनले भनिन् ।

नवराजकी दिदी सरिताले पनि  भाइ नवराज र उनकी  प्रेमिकाले फोन र च्याट गरिरहने बताइन् । मृतकका बाबु मुनलाल बिकले  छोरालाई हत्या गरेरै भेरी नदीमा फालेको आरोप लगाए ।

‘एउटा मात्र छोरा थियो । प्रहरीमा भर्ती हुन थालेको थियो  । हामी गरिब दलित हौं । उनीहरु ठकुरी त्यो केटीसँग सम्बन्ध राख्न छाड भनेकै हौं । तर मानेर अहिले ज्यानै हाली दिए,’ बाबु मुनलालले  भने ।

मृतकका फुपाजु भरत बिकले पनि नवराजलाई हत्या गरेरै भेरी नदीमा फालेका हुन सक्ने आशंका जताए ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा दर्ता गराउने सहमति नभएसम्म आफूहरुले शव नबुझ्ने मृतककी दिदी सरिता बिक बताउँछिन् । राष्ट्रिय दलित साझा नेटवर्क नेपालको केन्द्रीय कार्यालयले घटना निन्दनीय भएको र  गम्भीर छानविन गरि दोषी उपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *