बिराटनगर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालका निलम्बित सांसद हरिनारायण रौनियार ‘पप्पु’ संसद भवन छिर्न नपाएपछि आक्रोशित बनेका छन । संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको संसदको बैठकमा निलम्बित सांसद रौनियार जवरजस्ती प्रवेश गर्न खोजेका थिए । रौनियारलाई सभामुख र महासचिवको आदेश भन्दै मर्यादापालकहरूले बैठक कक्षभित्र प्रवेश गर्न नदिइएको हो ।
निलम्बित सांसद रौनियारलाई संसदको बैठकमा प्रवेश नदिएपछि सभामुख कृष्णबहादुर महरा र महासचिव मनोहरप्रसाद भट्टराईलाई भेटेर आक्रोश पोख्न खोजेका थिए । तर, निलम्बित सांसद रौनियारलाई भेटन सभामुख र महासचिवले मानेनन । पप्पु कन्ट्रक्सनका मालिक समेत रहेका रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । मुद्धा दर्ता गरेपछि सांसद रौनियारलाई संसद सचिवालयले निलम्बन गरेको छ ।
संघीय फोरमका सांसद रौनियार असोज १९ गतेदेखि निलम्बनमा परेका छन् । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियार ‘पप्पु’सहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुमित रौनियार हरिनारायणका छोरा हुन ।
रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपियाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।पप्पु कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन शुरु गरेको थियो । पप्पु कन्ट्रक्सनले ११ अर्ब रूपियाँ बराबरका ४० आयोजना ओगटेर अलपत्र पारेको छ ।
‘पप्पु’ कन्ट्रक्सनकै कारण रौतहटमा पुलका लागि तयार रेर अलपत्र छाडिएको खम्बामा ठोकिएर केही महिना अगाडि ढुंगा दुर्घटना समेत भएको थियो ।निलम्बित सांसद रौनियारले अहिले पनि सांसदको लोगो लगाएर सरकारी कार्यालय जाने, ठेक्काको कामको हिसाव किताव मिलान गर्ने लगायतका कार्य गर्दै आएका छन ।
केही दिन अगाडि पनि निलम्बित सांसद रौनियारले सांसदको लोगो लगाएर हुलाकी सडक कार्यालय मीनभवनस्थित कार्यालयमा पुगेर हिसाव किताव मिलान गरेका थिए ।