बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तत्कालीन सरकार सुशासन र भ्रष्टाचारका विषयमा गम्भीर नहुँदा जेनजी प्रदर्शनमा ठूलो क्षति भएको बताएका छन्। जेन जीहरुको आन्दोलनबाट खण्डहर भएको कोइराला निबास अबलोकन गर्न आइपुगेको कोइरालाले सो कुरा बताएका हुन । कोइराला निबास एउटा इतिहास थियो अब रहेन । हामी परिबारहरु बिचको खिचातानी हुदा केही जग्गा समेत बिक्री गर्नु परयो र बाकी रहेको पुरानो काठकै घर समेत जलेर नस्ट भएको छ । यो देशको बिडम्बना हो । 
विराटनगरस्थित शेखर कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले हालसम्म नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणको विषयमा कुनै छलफल नभएको बताए। नेता कोइरालाले जेनजी प्रदर्शनका क्रममा भएका क्षतिबारे छानबिन हुनुपर्नेमा जोड दिए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले तत्कालीन समयमा चाल्नुभएको कदम सही भएको उल्लेख गर्दै संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नरहेको बताए। उनले लोकतन्त्र र प्रजातन्त्रको धरोहर विराटनगरस्थित कोइराला निवास जलेकामा दुःख व्यक्त गर्नुभयो । भौतिक संरचना जले पनि नेपाली कांग्रेसको इतिहास नजलेको उनको जिकिर छ।
डाक्टर शेखर निवास पुग्दा कांग्रेस कार्यकर्ताहरू उपस्थित थिए । उपस्थित भएका कार्यकर्ताले घरको बारेमा चासो राखे । जवाफमा कोइालाले भने, ‘यो लोकतन्त्रको धरोहर होे, यसलाई उठाउनुपर्छ, म उठाउँछु ।’ तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई फाटेको भोटो पठाएर कृष्णप्रसाद कोइरालाले कोइराला निवासबाटै राणा शासनविरुद्ध आन्दोलनको विगुल फुकेका थिए ।
‘कोइराला निवास किन जल्यो, यो लोकतन्त्रको पर्यायवाची थियो’ उनले भने, ‘यो शेखर कोइरालाको घर होइन, लोकतन्त्रका लागि राणाकालदेखि लडेको घर हो, कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो यो ।’ कृष्णप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला तथा नोना कोइरालाले सुरु गरेको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउने कोइरालाले बताए । ‘आज जे छु जस्तो छु सबै यही घरले बनाएको हो’ उनले भने, ‘घरको इतिहास त जल्यो, यहींबाट हामी फेरि उठ्छौं, उठेर अगाडि बढ्छौं ।’ कृष्णप्रसाद कोइरालाले बनाएको कोइराला निवासबाट मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए ।