विराटनगर । महिला यू-१९ विश्वकपमा बलियो टेस्ट राष्ट्र अष्ट्रेलियाले नेपाललाई १४० रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट क्षतिमा १३९ रन जोडेको हो ।
नेपालले सुरुमा अष्ट्रेलियालाई दबाबमा राखेको थियो । नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियालाई १४ रनमा तीन विकेटको अवस्थामा खुम्च्याएकी थिइन्, तर त्यसपछि अष्ट्रेलिया उत्कृष्ट कमब्याक गर्दै नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिन सफल भयो ।
अष्ट्रेलियाका लागि काओम्हे ब्रायले ३४ बलमा सर्वाधिक ४५ रन जोडिन् । उनले ३ चौका र ३ छक्का प्रहार गरेकी थिइन् । यस्तै एलिनर लारोसाले ३१ रन र हस्रत गिलले ३० रन बनाए । आठौं नम्बरमा आएकी क्लोइ एनस्वर्थले ९ बलमा १६ रन बनाएर अष्ट्रेलियाको स्कोर उकासेकी थिइन् ।
नेपालकी पूजा महतोले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन् भने सिमाना केसीले ४ ओभरमा ३५ रन खर्चिँदै २ विकेट हात पारिन् । अन्य बलरले विकेट निकाल्न सकेनन् ।