विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुँदे सहमतिको जगमा वनेको वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकको आर्थिक विकास र राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पारे ।
सरकार गठन भएको ६ महिना भइसकेको र जसरी सरकारले काम गर्नुपर्ने हो सो अनुसार काम हुन नसकेको बताउँदै जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्नुपर्ने उनले बताएका छन् । वर्तमान सरकार प्रति जनताको आशा भरोसा रहेको उनको भनाई थियो । ६ महिनामै संविधान संशोधन, सुशासन तथा मुलुकको आर्थिक विकास सम्भव नहुने भएता तर यस विषयमा सरकारले कामको गतिलाई अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
नेता कोइरालाले सात वुदें सहमति अनुसार संविधान संशोधन प्रक्रिया चाडै अगाडी बढाउनुपर्ने बताए । उनले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र चाहेर नहुने भएकाले संविधान संशोधनका लागि सरकार बाहिर रहेका दलहरूलाई पनि मिलाएर लैजानुपर्ने बताए ।