विराटनगर । धान उत्पादनमा अग्रणी स्थानमा रहने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको पाईएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार ४ वर्ष अघि ४ लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको यो वर्ष घटेर ३ लाख ८२ हजार मेट्रिक टन धान उत्पादन भएको छ । खेतीयोग्य जमिनहरू आवासीय प्रयोजनमा प्रयोग हुन थालेको र गैह्र कृषिजन्य क्षेत्रमा उपयोग हुन थालेकाले उत्पादन घटेको हुनसक्ने उनको भनाई छ ।

लामो समय खडेरी पर्नु, सिचाइको पर्याप्त सुविधा नहुनु, धानमा विभिन्न रोगको प्रकोप बढ्दै जानुले पनि उत्पादन घट्न थालेको बताइएको छ । कहिले अधिक पानी पर्ने र कहिले पानी नै नपर्ने गर्नाले पनि उत्पादन गिरावट आएको हुनसक्ने बताइने गरेको छ । यो वर्ष केही ठाउँमा धानमा विभिन्न रोगको प्रकोप देखिएकाले पनि उत्पादन घट्यो, कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले भने ।

झापा कमल गाउँपालिकाका अगुवा किसान ख्याम आचार्यका अनुसार पहिला प्रति बिगाहा ८० मनसम्म धान फल्ने गरे पनि अहिले ६० मन फल्न पनि मुस्किल बनेको छ । पहिला जति मिहिनेत गरिन्थ्यो त्यो भन्दा बढी मिहिनेत गर्दा पनि उत्पादन बढ्न छाडेको छ, आचार्यले भने ।

धानको उत्पादन बढाउन स्थानीय सरकार र प्रदेश सरकारले कृषिमा आधारित रहेर विभिन्न कार्यक्रमहरू ल्याउँदै आएका छन् । कमल गाउँपालिकाले निःशुल्क रूपमा जैविक मल उपलब्ध गराउँदै आएको छ ।

धान लगायतका कृषि उपज उत्पादन बढाउन हामीले किसानको आवश्यकता अनुसार नै जैविक मल उत्पादन गरेर वितरण गर्दै आएका छौ, गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भने। भू उपयोग नीतिको उचित कार्यान्वयन गरेर उत्पादनलाई घटन नदिन लाग्ने योजनामा रहेको उनी बताउँछन् ।