विराटनगर । जिल्ला सदरमुकाम खाँदबारीमा आगामी माघ २६ गतेदेखि दोस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक तीनपोखरी समाज विकास क्लबले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

खाँदबारी रङ्गशालामा हुने फुटबल प्रतियोगितामा कोशी प्रदेश सशस्त्र प्रहरी, बुल्स ११ भौसाबारी मोरङ, चुलाचुली स्पोर्टिङ क्लब झापासहित सङ्खुवासभाका पाँच टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा खाँदबारी युथ, एड्भान्स क्लब, मकालु फ्रेन्ड्स, शीतलपाटी युथ र आयोजक तीनपोखरी समाज विकास क्लब सहभागी रहने क्लबका अध्यक्ष मिनेश चापागाईंले बताएका छन् ।

प्रतियोगिताको विजयी टिमले नगद रु दुई लाख २५ हजार र उपविजेताले रु एक लाख १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।