विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले रगत अभावमा विरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ रक्त दाता सञ्जाल निर्माण गर्ने निर्णय गरेको छ । आज नेकपा एमाले मोरङको सभाहलमा बसेको महानगर कमिटीको पहिलो पूर्ण बैठकले कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा विरामीहरुको लागि अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्ये नजर गर्दै महानगर भित्रका पार्टी सदस्यहरुलाई समेत समेटेर नेकपा एमाले महानगर रक्त दाता सञ्जालको निर्माण गर्ने निर्णय गरेको महानगरका सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर र मातहतका कमिटीहरूले प्रत्येक बैठक तथा कार्यक्रमहरुमा समेत माइन्यूटमा अनिवार्य रुपमा रगत समूहको अभिलेख राख्ने व्यवस्था मिलाउने व्यवस्था मिलाइएको छ । यस्तै आजको बैठकले महानगर कमिटीका सदस्य सुदिप कोइरालालाई विराटनगर महानगर कमिटीको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा कमिटीको प्रवक्तामा नियुक्त गरेको छ । बैठकले दशैं तिहार, नेपाल सम्बत, छठ, इद लगायत चाडपर्वको अवसरमा यहि असोज १९ गते विराटनगर–११ स्थित श्रीकृष्ण होटलमा पार्टीका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । यसैबीच महानगर कमिटीका सदस्य शेखर विश्वासका पिता जय नारायण र पार्टी जिल्ला कमिटीका सचिव रबिन थापाका भाई कृष्णको असामयिक निधन भएको प्रति गहिरो दुःख व्यक्त मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरि परिवारजनमा गहिरो समवेदना सहित शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सचिव गिरीले बताउनुभयो । यस्तै दोस्रो पूर्ण बैठक नबस्दा सम्मको लागि पार्टीका गतिविधिहरुलाई चलायमान बनाउन पदाधिकारीलाई अख्तियारी प्रदान गरेको बैठकले निर्णय गरे अनुसार आजै महानगर कमिटी र टोल कमिटीका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । जसलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज जीवन घिमिरे तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् महानगर इन्चार्ज पर्शुराम बस्नेतले सहजीकरण गर्नुभएको थियो । महानगर कमिटीका अध्यक्ष रोहित कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायतले धारणा राख्नुभएको थियो । आजै महानगर संगठन कमिटी गठनपछि सपथग्रहण दिन छुटेकाहरुलाई आजै सपथ गराइएको छ ।