बिराटनगर । दुहबी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको जानकारी तथा वृत्ति परामर्श, लक्षित युवाहरुको ठुलो सहभागिता रहेको छ ।
स्विजरल्यान्ड सरकारको सहयोगमा नेपाल सरकारद्वारा संचालित ENSSURE-दोस्रो परियोजना अन्तर्गत प्रि-डिप्लोमा तहको २४ महिने नि:शुल्क औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा सुनसरीका दुहबी र रामधुनी नगरपालिकाले आफ्नो नगरवासी युवाहरुलाई उक्त कार्यक्रममा जोड्नका लागि कार्याक्रमको सूचना तथा सम्बन्धित विषयको वृत्तिपथबारे परामर्श गर्ने उदेश्यले औद्योगिक प्रशिक्षार्थी तालिम सूचना तथा वृत्तिपथ परामर्श कार्यक्रम चलाएका हुन्। कोशी प्रदेश सरकार समाजिक विकाश मन्त्रालयद्वारा संचालित औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा कोशी प्रदेशका विभिन्न ११ वटा प्राविधिक शिक्षालयमा ४ सय युवाहरुलाई ८ वटा विषयमा नि:शुल्क प्रि-डिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी दिन लागेको छ, उक्त कार्यक्रमको लागि हाल आवेदन संकलन भैरहेको छ।
नेपाल सरकारले स्विजरल्यान्ड सरकारसित ENSSURE परियोजना संचालनका लागि सम्झौता गरेको छ।उक्त परियोजना अन्तर्गत मुख्य ४ वटा कार्यक्रम रहेका छन् जसमा औद्योगिक प्रशिक्षार्थी कार्यस्थलमा आधारित तालिम , वृत्ति परामर्श कार्यक्रम कार्यरत युवाहरुको सिप स्तरोन्नति तालिम रहेका छन्। यी कार्यक्रमहरु संचालन गर्नका लागि ENSSURE परियोजना सहायता एकाईले तिनै तहका सरकारलाइ पाबिधिक सहयोग प्रदान गर्ने गर्दछ भने उद्योग संगठन मोरङले प्रशिक्षार्थी युवायुवतीलाई साढे १९ महिनाको प्रयोगात्मक अभ्यासका र रोजगारीका लागि सहजीकरण गरिरहेको छ।कार्यस्थलमा आधारित तालिम र दोहोरो सिकाई प्रणाली मा निजि क्षेत्रको सहभागिता सुनिस्चित गर्नका लागि उद्योग संगठन मोरङले ENSSURE परियोजनाको सहकार्यमा Skill Development Unit समेत स्थापना गरेको छ।
दुहबी नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले दुहबीले २०७५ सालदेखि नै प्राविधिक शिक्षाका लागि काम गरिरहेको जसमा वृत्ति तथा रोजगार मेला सञ्चालन गर्ने देखि लिएर औद्योगिक प्रशिक्षार्थी कार्यक्रमका लागि प्रत्येक वर्ष छात्रावृत्ति समेत प्रदान गरिरहेको जानकारी दिए । प्रमुख गच्छदारका अनुसार दुहबी नगरपालिकाले प्राबिधिक शिक्षाका लागि बार्षिक रु १० लाख छुट्टाएकोमा सुरुमा प्राबिधिक शिक्षामा छात्रावृत्तिमा अध्ययन गर्न पनि प्रशिक्षार्थीको अभाव हुने गर्थ्यो। तर केही वर्षयता नगरपालिकाले थाम्नै नसक्ने गरी प्रशिक्षार्थीहरु आउन थालेका छन्।
गच्छदारले वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै शान्ति र आनन्द हुने बताए । त्यसैगरि रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए ।
अधिकृत चौधरीले शैक्षिक अध्ययनले मानिसमा चरित्र र संस्कारको निर्माण गर्ने अनि प्रविधि र सिपको सिकाइले रोजगार बनाउन सहयोग गर्ने हुँदा जीवनमा यस्तो प्रशिक्षण अनिवार्य भएको धारणा राखे।
दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका HR Manager नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो। अरिहन्तका नारायण लामिछाने सरका अनुशार Apprenticeship कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिनु भएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरै भन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको पबिधिक बन्न सुभकामना दिनु भएको थियो। ENSSURE परियोजनामा कार्यरत रेखा उप्रेतीका अनुसार उद्योग–व्यवसायमा उद्योगीक अभ्यासका क्रमका १९.५ महिनामा प्रशिक्षार्थीले प्रोत्साहन रकम स्वरूप नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकको कम्तीमा २५% पाउने स्पष्ट पारिन्।
इन्स्योर परियोजनाका प्रह्लादसिंह चौधरीले प्रशिक्षणमा सहभागी हुन १६ वर्ष पूरा भएको हुनुपर्ने र एसएलसी वा एसईई परीक्षामा सहभागी भएको हुनुपर्ने बताए । चौधरीले भने, ‘यो प्रशिक्षण शिक्षालय र उद्योग–व्यवसाय दुबै स्थानमा सम्पन्न हुन्छ । त्यसैले यसलाई दोहोरो सिकाइ प्रणाली पनि भनिन्छ ।उनले उत्तीर्ण भएका प्रशिक्षार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रि–डिप्लोमा तहको प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिए ।