दुई दिने नेपाल भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आउनुभएका राजा थानी बुधबार स्वदेश फर्किनुभएको हो । नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किन लाग्नुभएका उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गर्नुभयो

छलफलमा प्रधानमन्त्री प्रचण्ड र कतारी राजा

नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार ६ वटामध्ये एउटा क्षेत्रमा मात्रै सम्झौता भएको छ । राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको हो । बाँकी ५ वटा समझदारीमा कला संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबीच सहकार्यसम्बन्धी छन् । दुईटा समझदारी नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्सबीच भएका हुन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।