विराटनगर । कोशी प्रदेश सभामा बिहीबार पेस भएको सङ्कल्प प्रस्तावको छलफल पछि आज पारित गर्ने तयारी भएको छ। बिहीबारदेखि सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनमा नेकपा एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा सङ्कल्प प्रस्ताव पेस भएको हो ।
सङ्कल्प प्रस्तावमाथि आजै छलफल हुने तथा उठेका विषयमा मुख्यमन्त्रीले जवाफ दिने तयारी गरिएको छ। मुख्यमन्त्रीको जवाफ पछि सङ्कल्प प्रस्ताव आजै पारित गरेर विशेष अधिवेशन अन्त्य गर्ने तयारी प्रदेश सभा सचिवालयको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको प्रस्ताव तथा एमाले संसद् किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका सांसद गणेश उप्रेतीको समर्थनमा प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस भएको छ।
सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।
मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्नेसमेत उल्लेख छ ।
सङ्कल्प प्रस्तावमा नेपालको संविधानको धारा १८८ ९२० बमोजिम मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा त्यसपछिका दिनमा सरकारको वैधानिकता समाप्त हुने हुँदा प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम नयाँ वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नुहुने तथ्यसहितको सन्देश प्रदेश प्रमुखलाई प्रदेशसभाको बैठकबाट प्रवाह गर्न प्रदेशसभा सचिवालयलाई निर्देशन दिने उल्लेख छ ।
कोशी प्रदेश सभामा बहुमत पुग्न ४७ सदस्यको आवश्यकता पर्दछ । ९३ जना प्रदेश सभा रहेको कोशी प्रदेशमा कोशी प्रदेशमा नेकपा एमालेका उप सभामुख सहित ४० जना प्रदेश सभा सदस्य छन् । कोशी प्रदेश सभामा माओवादीका १३ प्रदेश सभा रहेका छन् ।
कोशी प्रदेश सभामा सभामुख सहित ६ सिट रहेको राप्रपा भने सङ्कल्प प्रस्तावका विषयमा तटस्थ रहने भएको छ । राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले संसदीय दलले तटस्थ बस्ने निर्णय गरेको बताए । उनले भने, ‘हामीले पक्षमा या विपक्षमा रहँदा कुनै फरक नपर्ने भएकाले तटस्थ बस्ने निर्णय गरेका हौं ।’ प्रस्ताव पास या फेल हुने अवस्था आए तत्काल निर्णय गर्ने सिटौलाले बताए ।
यस्तै जनता समाजवादी पार्टी जसपाले भने सङ्कल्प प्रस्तावको पक्षमा उभिने निर्णय गरेको छ । जसपाको कोशी प्रदेश सभामा एक सिट रहेको छ । जसपाका प्रदेश सभा सदस्य निर्मला सुब्बाले पार्टीको निर्देशन अनुसार पक्षमा बोल्ने पक्षमा उभिने बताइन् ।