विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व अब नेकपा एमालेका हिक्मतकुमार कार्कीले गर्ने पक्कापक्की भएको छ । एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै कार्कीको नेतृत्वमा कोशी प्रदेश सरकार बन्ने भएको हो । एमालेले नयाँ राजनीतिक समीकरण बनेपछि कार्कीको नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्न लागेको छ ।
अहिले कोशीमा कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकार छ । एमालेले प्रदेश प्रमुख समक्ष दाबी पेशका लागि भने सत्तामा सहभागी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कुरिरहेको छ । एमाले कोशी स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका लागि दाबी र संसद्को विशेष अधिवेशन माग गर्ने छुट्टाछुट्टै निवेदनको ड्राफ्ट तयार छ । प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि समर्थन फिर्ता, नेतृत्वको दाबी र विशेष अधिवेशन माग गर्ने तयारी भएको स्वीकार गरे । ‘हामी छलफलमा छौं, तीन पार्टीको छलफल हुन्छ,’ एमाले दलका नेता कार्कीले भने, ‘कुराकानी हुँदैछ, आजैका लागि प्रयास गरिंदैछ ।’
माओवादी केन्द्रले भने आफ्ना पार्टी नेताहरू विराटनगर बाहिर रहेकाले तत्काल हतार नगर्ने बताएको छ । माओवादी केन्द्रले सरकार गठनको खाका स्पष्ट हुनुपर्ने अडान राखेको छ । एमालेले तयार गरेको ड्राफ्टमा मुख्यमन्त्रीले काम गर्न नसकेका कारण संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको सरकारलाई सांसदले दिएको समर्थन फिर्ता लिएको र बहुमत ५७ सांसदले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई प्रस्ताव गरेको उल्लेख छ । संसद्को विशेष अधिवेशन बोलाउने अर्को निवेदन पनि तयार छ ।
समर्थन फिर्ता र मुख्यमन्त्री दाबी प्रदेश प्रमुख समक्ष पेश गर्ने, प्रदेश सभा सचिवालयमा दर्ता गर्ने र सभामुखलाई पनि जानकारी गराउने तयारी छ। दाबी पेश गरेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीलाई तत्कालै नियुक्त गर्नुपर्ने एमालेको तर्क छ । तर नेकपा माओवादी केन्द्रले भने अन्य उपधारा अनुसार गठन भएको सरकारले विश्वासको मत लिनका लागि ३० दिन समय पाउने भएकाले उपधारा ५ अनुसार नियुक्त मुख्यमन्त्रीका लागि पनि ३० दिनसम्म पर्खनुपर्ने बताएको छ । माओवादीको अडानमा एमाले सकारात्मक छ ।