लहान । सिरहाका रतन साहले फलाएको रंगीन काउली वा फुलकोवी हेर्नका लागि आजभोलि मानिसहरुको उनको तरकारी बालीमा भिँड लाग्ने गरेको छ ।

सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न घुइँचो नै लाग्ने गर्छ ।

‘साह भन्छन् सात वर्ष पहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाएँ’, साह उत्साही हुँदै भन्छन् ,’परीक्षणका लागि पाँच धुर जग्गामा लगाएँ । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’

रतन शाले एक किलोसम्मको काउली फलाएका छन् । यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्‍याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ। साहले भने,’आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’ शाहले आजभोलि उक्त काउली प्रतिकिलो दुई सयका दरले बिक्री गर्ने गरेका छ्न् ।

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको स्थानीय एक विद्यालयका प्रधानाध्यापक कुशेश्वर यादवले बताए । उनले रंगिन काउली हेरिसकेपछि मनै आनन्दित भएको प्रतिक्रिया दिएका छन् ।