सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जङ्गल क्षेत्रमा उनीहरू मृत अवस्थामा भेटिएका हुन्।
आज बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्यामप्रकाश यादवका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। “हामी भर्खरै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “अहिलेसम्म मृतकहरूको पहिचान खुलेको छैन।”
प्रहरीका अनुसार युवक र युवतीका शव एकै स्थानमा नभई केही मिटरको दूरीमा भेटिएका छन्, जसका कारण घटना शंकास्पद देखिएको छ। सहिद पार्क सुर्खेतको प्रमुख पर्यटकीय स्थलसमेत हो।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।