FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

काठमाडौं (विराट खबर ) । कप्तान दिपेन्द्रसिंह ऐरीको प्रेरणादायी प्रदर्शनमा सुदुरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित निकालेको छ । कर्णाली याक्सलाई ४५ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम अंकतालिकाको शीर्षस्थानमा उक्लिन सफल भयो ।

त्रिवि मैदानमा भएको म्याचमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदुरपश्चिमले ९ विकेट क्षतिमा १३९ रनको मध्यम स्कोर खडा गरेको थियो । जवाफी ब्याटिङमा कर्णाली ९४ रनमै अलआउट भयो । कर्णाली ३ म्याचमा दोस्रो हार व्यहोर्दै अंकतालिकामा छैटौं स्थानमा ओर्लेको छ ।

आजको म्याचमा दुवै टिमका विदेशी ब्याटरहरु खासै चल्न सकेनन् । सुदुरपश्चिमले पहिलो बलमा पहिलो विकेटका रुपमा क्रिस ब्राउनलाई गुमाएको थियो । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरे । ७३ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमलाई छैटौं नम्बरमा आएका कप्तान ऐरीले उद्दार गरेका थिए । उनले २८ बलमा २ छक्का र १ चौकासहित सर्वाधिक ३९ रन बनाए । आरिफ शेखले २५ बलमा २८ रनको योगदान दिए भने क्रिस लिन २० बलमा १८ रन बनाएर आउट भए । कर्णालीका कामीले सर्वाधिक ३ विकेट लिए ।

बलिङतर्फ पनि दिपेन्द्रले सर्वाधिक ४ विकेट लिए । कर्णालीका लागि पवन सर्राफले २५ बलमा सर्वाधिक २७ रन जोडे । कर्णालीका विदेशी ब्याटरहरु फ्लप भएका थिए । अघिल्लो म्याचमा विष्फोटक सतक हानेका मार्क वाट आज १० बलमा १७ रन जोडेर आउट भए ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail