बिराटनगर । कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले कार्यभार सँहाल्नुभएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङ्ग बाट सपथ ग्रहण पछि मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो । उहाँले आफनो जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने प्रतिबद्धता जनाउनुभएको छ । कर्मचारीहरुलाई काम र पारदर्षितामा बिश्वास गर्न आग्रह गर्नुभयो । मन्त्री भण्डारीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदै भन्नुभयो ः मन्त्रालयमा कुनै पनि काम अडकिने रोकिने गरिनु हुदैन । आफू काममा बिश्वास गर्ने र सहभागितात्मक निर्णय गरिने पनि उहाँले प्रष्ट पार्नुभयो ।
मन्त्री भण्डारीले प्रदेश मातहत पर्ने आठ वटा यातायात ब्यवस्था कार्यालयहरुको भौतिक संरचना तथा सेवा प्रवाहमा सुधारका लागि सुझाब पेश गर्न कार्यदल गठन गर्र्ने पहिलो निर्णय गर्नुभएको छ । मन्त्रालयको कानुन तथा प्रदेशसभा मामिला महाशाखा प्रमुख संयोजक रहेको चार सदस्यीय कार्यदललाई सुझाब पेश गर्न १५ दिनको समय तोकिएको छ । यस्तै मुल ऐन अन्र्तगत नियमावली तर्जुमा हुन नसकेका ऐन सम्बन्धी नियम एक महिना भित्र तर्जुमा गरिने भएको छ । आठ वटा यातायात ब्यबस्था कार्यालयहरुको सेवा प्रबाह चुस्त दुरुस्त बनाइ गुनासो रहित बनाउन कार्यदल गठन गरिएको मन्त्री भण्डारीले बताउनुभयो ।