arya newro
बिराट
खबर
Menu
ट्रेन्डिङ न्यूज

जीवन बीमा कम्पनीहरूले हरेक वर्ष किन घटाउँदैछन् बीमितको बोनस दर ?

Jan 5, 2026 7:27 AM 48
जीवन बीमा कम्पनीहरूले हरेक वर्ष किन घटाउँदैछन् बीमितको बोनस दर ?

काठमाडौं ।

तीन वर्षअघि सम्म राष्ट्रिय जीवन बीमा कम्पनी (तत्कालीन राष्ट्रिय बीमा संस्थान) ले बीमितलाई प्रतिहजार ६५ रुपैयाँको दरमा बोनस दिँदै आएको थियो। लामो समयसम्म बीमांकीय मूल्यांकन नभएकाले कम्पनीले यसलाई ‘अन्तरिम बोनस’ का रूपमा लागू गर्दै आएको थियो। यो बोनस दर सबै प्रकारका बीमालेखमा समान थियो।

तर पछिल्ला वर्षहरूमा कम्पनीले बोनस दर क्रमशः घटाउँदै आएको छ।

  • दुई वर्षअघि बोनस घटाएर ६० रुपैयाँ बनाइयो
  • यस वर्ष फेरि घटाएर ५५ रुपैयाँ कायम गरिएको छ

अबदेखि बीमितले एक हजार रुपैयाँको बीमा रकममा ५५ रुपैयाँ मात्र बोनस पाउनेछन्।


तर कम्पनीको यो अवस्था कुनै अपवाद भने होइन। बरु, यो समग्र जीवन बीमा क्षेत्रको प्रतिनिधि अवस्था हो।

पूर्ण सरकारी स्वामित्वमा रहेको यस कम्पनीको बोनस दर घट्दै जानुजस्तै, निजी क्षेत्रबाट सञ्चालित तथा विदेशी लगानीमा सञ्चालन भएका जीवन बीमा कम्पनीहरूमा पनि उस्तै प्रवृत्ति देखिएको छ।

सरकारीदेखि निजी तथा विदेशी लगानीका सबैजसो बीमा कम्पनीहरूले पछिल्ला वर्षहरूमा बीमितलाई दिइने बोनस दर क्रमशः घटाउँदै लगेका छन्।


केही वर्षअघि सम्म न्यूनतम बोनस दर प्रतिहजार ६५ रुपैयाँ कायम गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सको बोनस दर पनि अहिले ५६ रुपैयाँमा झरेको छ। विशेषगरी अग्रिम भुक्तानी हुने सावधिक जीवन बीमामा यही दर लागू गरिएको छ।

उक्त अवधिमा अन्य प्रकारका जीवन बीमालेखमा भने प्रतिहजार ६० रुपैयाँ बोनस कायम गरिएको छ। तर ३० वर्षभन्दा लामो अवधिका बीमालेखमा भने कम्पनीले तुलनात्मक रूपमा बढी, अर्थात् ८५ रुपैयाँसम्म बोनस दर तोकेको छ।


नेपाल लाइफपछि बीमा क्षेत्रमा ठूलो होल्डिङ रहेको नेसनल लाइफ इन्स्योरेन्सको न्यूनतम बोनस दर अरू कम्पनीको तुलनामा केही बढी देखिए पनि यसले पनि बीमितलाई प्रतिहजार ६० रुपैयाँ मात्रै बोनस दिन सकेको छ। जबकि दुई वर्षअघि सम्म यस कम्पनीले प्रतिहजार ६५ रुपैयाँ बोनस दिँदै आएको थियो।

कम्पनीले २५ वर्षभन्दा लामो अवधिका सावधिक तथा आजीवन बीमालेखमा भने तुलनात्मक रूपमा बढी, अर्थात् ८५ रुपैयाँ बोनस दर तोकेको छ।

नेसनल लाइफ मात्र होइन, अन्य बीमा कम्पनीहरूको अवस्था पनि उस्तै छ। पछिल्लो समय लाइसेन्स पाएर सञ्चालनमा आएका नयाँ कम्पनीदेखि पुराना कम्पनीसम्म सबैजसो जीवन बीमा कम्पनीहरूले बोनस दर घटाउँदै लगेका छन्।

बीमा क्षेत्रमा बोनसले बीमितको प्रतिफलको काम गर्छ। जीवन बीमामा बीमितले ठूलो प्रिमियम तिर्नुपर्ने भएकाले यो केवल जोखिम बहनको साधन मात्र नभई अनिवार्य बचत र वैकल्पिक लगानीको माध्यमका रूपमा पनि हेरिँदै आएको छ। यस्तो अवस्थामा बोनस दर घट्नुले बचतप्रति निरुत्साह पैदा गर्ने अवस्था सिर्जना भएको छ।

किन घट्यो बीमाको बोनस दर?

सरकार, नियामक र बीमा कम्पनीका सरोकारवालाहरूका अनुसार बोनस दर घट्नुको मुख्य कारण बैंकको ब्याजदरमा आएको तीव्र गिरावट हो।

तीन वर्षअघि बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको ब्याजदर ११.०६ प्रतिशतसम्म पुगेको थियो। तर हाल कात्तिक मसान्तसम्म आइपुग्दा यो दर घटेर ५.४१ प्रतिशतमा सीमित भएको छ।

अहिले बीमा कम्पनीहरूले संकलन गरेको प्रिमियमको अधिकांश रकम बैंक निक्षेपमै लगानी गरिरहेका छन्।

कुल ७ खर्ब ५७ अर्ब ३६ करोड रुपैयाँ बराबरको लगानीमध्ये:

  • वाणिज्य बैंकहरूमा मात्रै ५ खर्ब ३२ अर्ब रुपैयाँ
  • विकास बैंक, वित्त कम्पनी र पूर्वाधार बैंकमा ६३ अर्ब रुपैयाँ

लगानी गरिएको छ। यस्तो ठूलो रकमको ब्याजदर एकैचोटि घट्दा बीमा कम्पनीको आम्दानी र नाफा दुवै घट्न पुगेको हो।

नियामकीय व्यवस्था पनि कारण

प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंका अनुसार बोनस घट्नुको मुख्य कारण यही ब्याजदरको गिरावट हो।

“बीमा कम्पनीले बोनस दिने भनेको नाफाबाटै हो। लगानीबाट आउने आम्दानी घटेपछि नाफा घट्छ र बोनस पनि घट्छ। हामीसँग राम्रो प्रतिफल दिने वैकल्पिक लगानी क्षेत्र पनि धेरै छैन, त्यसैले बोनस बैंकको ब्याजमै निर्भर छ।”

तर ब्याजदर मात्र एक्लो कारण होइन। बीमकहरूका अनुसार नेपाल बीमा प्राधिकरणले लागू गरेको ‘फ्युचर बोनस’ सम्बन्धी व्यवस्था पनि बोनस घट्नुको अर्को महत्त्वपूर्ण कारण हो।

पहिले बीमा कम्पनीहरूले एक वर्षको सबै आम्दानीलाई सोही वर्षको नाफा मानेर बोनस वितरण गर्थे। तर अहिले प्राधिकरणले आम्दानीको निश्चित हिस्सा भविष्यको बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था गरेपछि तत्काल बाँड्न पाउने बोनस सीमित भएको हो।

त्यस्तै, जोखिममा आधारित पुँजीकोष (Risk-Based Capital) सम्बन्धी नियम पनि बोनस घट्नुको अर्को कारण हो। बोनस वितरण गर्दा बीमाकोष घट्ने भएकाले पुँजीकोष अनुपात कायम गर्न कम्पनीहरू बोनस दर घटाउन बाध्य भएको बीमकहरूको भनाइ छ।

आगामी दिनमा अझै घट्न सक्छ

ब्याजदर अझै घट्दै गएमा आगामी वर्षहरूमा बोनस दर थप घट्न सक्ने सीईओ प्रसाईंको अनुमान छ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल झारिसकेका छन्।

विगतका उच्च ब्याजदरका निक्षेप परिपक्व नभएकाले मात्रै औसत ब्याजदर केही माथि देखिएको हो। ती निक्षेप परिपक्व हुँदै जाँदा र नयाँ निक्षेप कम ब्याजदरमा नवीकरण हुँदा बीमा कम्पनीको आम्दानी अझै घट्ने सम्भावना देखिन्छ।

यसका साथै, आगामी आर्थिक वर्षदेखि लागू हुन लागेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (NFRS) ले पनि बोनसमा असर पार्न सक्ने सरोकारवालाहरू बताउँछन्। यो प्रणालीले एकुरल बेसिसलाई प्राथमिकता दिने भएकाले तत्काल बाँड्न मिल्ने बोनसमा थप दबाब पर्ने अनुमान छ।

बोनस घट्दा बीमितले कसरी गुमाउँछन्?

जीवन बीमामा कम्पनीले जोखिम र बचत फिर्ताको ग्यारेन्टी दिन्छ, तर प्रतिफलको ग्यारेन्टी हुँदैन।

उदाहरणका लागि,

यदि कुनै व्यक्तिले १५ वर्षका लागि एक करोड रुपैयाँ बराबरको जीवन बीमा गर्‍यो र वार्षिक ६ लाख रुपैयाँ प्रिमियम तिर्छ भने, उसलाई केही भएमा कम्पनीले बीमा रकम बराबरको भुक्तानी दिने ग्यारेन्टी गर्छ। तर बोनस घट्दै जाँदा बीमाको कुल प्रतिफल भने उल्लेखनीय रूपमा घट्न सक्छ।

त्यस्तै, १५ वर्षसम्म बीमितले जम्मा गरेको प्रिमियम रकम फिर्ता गर्ने ग्यारेन्टी पनि बीमा कम्पनीले लिन्छ। तर त्यसको बदलामा यति नै प्रतिफल दिन्छु भनेर ग्यारेन्टी गर्ने वैधानिक व्यवस्था भने हुँदैन।

नियामकीय व्यवस्थाअनुसार बीमा कम्पनीले कमाएको नाफाको ९० प्रतिशत रकम बीमितलाई बोनसका रूपमा वितरण गर्नुपर्छ। यो रकम ढिलो–चाँडो बीमकले बीमितलाई दिनैपर्ने हुन्छ। तर यो बोनस बीमा कम्पनीले आर्जन गर्ने नाफामा आधारित हुने भएकाले बीमितले यति नै रकम पाउँछ भनेर अग्रिम रूपमा ठोकुवा गर्न भने सकिँदैन।

यतिबेला भने बीमा क्षेत्रमा ‘दोब्बर पैसा पाइन्छ’ भन्ने प्रचार व्यापक देखिन्छ। विगतमा बोनस दर उच्च हुँदा बीमाको अवधि पूरा भएपछि पाइने कुल रकम दोब्बर पुग्ने अवस्था थियो। तर पछिल्ला वर्षहरूमा बोनस दर घट्दै जाँदा यस्तो प्रतिफल पनि क्रमशः घट्दै जाने देखिन्छ।

माथिकै उदाहरणमा, एक करोड रुपैयाँको बीमा गर्ने व्यक्तिले प्रतिहजार ६५ रुपैयाँ बोनस पाउँदा वार्षिक रूपमा ६ लाख ५० हजार रुपैयाँ बोनस पाउँथ्यो। यसरी १५ वर्षमा उसले ९७ लाख ५० हजार रुपैयाँ बोनस पाउने अवस्था हुन्थ्यो।

तर यही बोनस दर ५५ रुपैयाँमा झर्दा, वार्षिक बोनस ५ लाख ५० हजार रुपैयाँमा सीमित हुन्छ र १५ वर्षमा जम्मा ८२ लाख ५० हजार रुपैयाँ मात्रै प्राप्त हुन्छ। यद्यपि, बीमितले पाउने प्रतिफल प्रत्येक वर्ष घोषणा हुने बोनस दरको योगफल हुने भएकाले एक–दुई वर्षका लागि मात्रै बोनस घट्दा भने धेरै ठूलो असर नपर्न पनि सक्ने देखिन्छ।

बोनस घटेकोमा अभिकर्ता असन्तुष्ट

बीमा अभिकर्ताहरू भने बीमा कम्पनीहरूले हरेक वर्ष घटाउँदै आएको बोनस दरप्रति सन्तुष्ट छैनन्। ब्याजदरका कारण केही दबाब पर्नु स्वाभाविक भए पनि बोनस घट्नुको कारण यही मात्रै नभएको बीमा अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द तिवारी बताउँछन्।

उनका अनुसार अहिले बीमा कम्पनीहरूले मिलेमतो गरेर क्षमताभन्दा कम बोनस दर घोषणा गरिरहेका छन्। यस्तो निर्णयको प्रत्यक्ष असर बीमितमा पर्ने भएकाले अभिकर्ताहरूले यस विषयमा खबरदारी गर्नुपर्ने उनको भनाइ छ।

आफू संघको नेतृत्वमा रहँदा बीमितको हितका लागि आवाज उठाएको स्मरण गर्दै तिवारीले अहिले पनि अभिकर्ताहरूले बीमितको पक्षमा मजबुत रूपमा बोल्नुपर्ने बताउँछन्।

“बीमा कम्पनीले कमाएको रकमबाट बोनस दिने हो। कमाएको पैसा लुकाएर राख्नु बीमितमाथिको अन्याय हो। अहिले कम्पनीहरूसँग क्षमता हुँदाहुँदै पनि पर्याप्त बोनस नदिएको अवस्था छ,” तिवारी भन्छन्, “यो बीमितसँग गरिएको करारविपरीतको काम हो।”

उनले आफू अध्यक्ष हुँदा मेटलाइफ, एलआईसी लगायत बोनसमा कम ध्यान दिने कम्पनीहरूलाई पनि न्यूनतम तहमाको बोनस घोषणा गर्न बाध्य बनाएको स्मरण गरे। अहिलेको नेतृत्व पनि यस विषयमा जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ।

बीमा कम्पनीलाई जोखिम बहनको माध्यम मात्र का रूपमा हेर्न नहुने तिवारीको तर्क छ।

“बीमितले तिर्ने प्रिमियम जोखिम बहनका लागि मात्रै हो भने त म्यादी बीमा लिए पुग्थ्यो। जीवन बीमा भनेको बचत पनि हो। बचतलाई ध्यान दिने हो भने बीमितलाई उचित प्रतिफल दिन सक्नुपर्छ,” उनी भन्छन्।


Dhoni Sabuun

Related Articles

Birat Cancer Hospital