संसदमा जलहरी विवाद : आजको बैठक आज अपरान्ह ४ बजे बस्ने

काठमाडौं। शुक्रवार नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः बस्न सकेन । बैठक आज शनिवार सम्मका लागि स्थगित भयो । हिजो दिउँसो साढे १२ बजेदेखि स्थगित भएको बैठक २० मिनेटमा बस्न नसकेपछि दिउँसो ३ बजे र त्यसपछि पनि बस्न नसकेपछि साँझ ६ बजेका लागि बोलाइएको थियो । तर उक्त समयमा पनि बैठक बस्न सकेन । शुक्रवार बैठक बस्न नसकेपछि आज दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
शुक्रवारको बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले अवरोध गरे। जवाफ नदिएसम्म संसद् चल्न नदिने एमाले सांसदहरुले अडान लिएका छन् ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसमाथि संसद्ले गर्न सक्ने कार्यका सम्बन्धमा पटक–पटक सर्वदलीय छलफल भयो । तर निचोड निस्किएन । नेताहरूका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।
प्रतिनिधि सभाको बैठकमा गएको आइतवारदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।
Leave a Reply