स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

स्ववियु निर्वाचन अन्योलमा, कुन क्याम्पसमा किन रोकियो मनोनयन ? 

काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित १८ फागुनमा नै मतदान हुने गरी कार्यतालिका संशोधन गरेर चुनावी प्रक्रिया अघि बढाए पनि स्ववियु निर्वाचन अन्योलमा परेको छ । उपत्यकाका केही क्याम्पसबाहेक निर्धारित कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन । केही क्याम्पसमा आगजनी, तोडफोड र झडप भए ।वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ ।

कुन क्याम्पसमा किन रोकियो मनोनयन ?

त्रिवि केन्द्रीय क्याम्पस
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदाता नामावलीको विषयलाई लिएर आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीको कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । निर्वाचन समितिले सहमतिका लागि गरेको प्रयास असफल भएको त्रिवि केन्द्रीय क्याम्पसका निर्वाचन आयुक्त लालुप्रसाद पौडेलले बताए ।

विश्वभाषा क्याम्पस
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदाता नामावलीमा फर्जी विद्यार्थी भएको भन्दै तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । चुनावी प्रक्रिया अघि बढाउन आइतबार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकालेका छन् ।

नेपाल कमर्स क्याम्पस
नेपाल कमर्स क्याम्पस मीनभवनमा मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)ले फर्जी विद्यार्थीको विरोधमा एक सातायता गरेको तालाबन्दीका कारण निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।

रत्नराज्यलक्ष्मी क्याम्पस
शनिबार भएको नेविसंघ र अनेरास्ववियुको झडपका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए ।

पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शनिबारदेखि गरेको तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिवि नियमको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । तर, सोमबार कुनै पनि हालतमा मनोनयन दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ ।

शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसमा पनि तालाबन्दीका कारण आइतबार मनोनयन दर्ता हुन सकेन । माओवादी केन्द्र, वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको र आचारसंहिता उल्लंघन गरेको विरोधमा ताला लगाएका हुन् । ताला खुलाउनका लागि निर्वाचन कमिटीले सोमबार बिहान सर्वपक्षीय बैठक बोलाएको छ । सो बैठकबाट ताला खुलाउने सहमति भयो भने भोलि नै मनोनयन दर्ता प्रक्रिया सुचारु गरिने क्याम्पस प्रमुख कृष्ण आचार्यले बताए ।

अस्कल क्याम्पस
अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । विद्यार्थी संगठनलाई सहमतिमा ल्याउनका लागि अथक प्रयास गर्दा पनि सहमतिमा ल्याउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन आयुक्त गंगा श्रेष्ठले बताइन् ।

त्रिचन्द्रमा ताला खुल्यो
एक सातादेखि त्रिचन्द्र क्याम्पसमा लगाएको ताला खुलेको छ । ताला खुलेसँगै चुनावी प्रक्रिया अगाडि बढेको छ ।
सैद्धान्तिक परीक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी आन्दोलित थिए । सो विषयमा त्रिविले सिनेटमा छलफल गरी विवाद टुंग्याउने सहमतिपश्चात् ताला खुलेको हो । आइतबार त्रिचन्द्रमा संगठन दर्ता गरिएको छ ।

ल क्याम्पसमा तोडफोड
प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ । विद्यार्थीेले अवरोध सिर्जना गरेपछि कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन नसकिने समितिले क्याम्पस प्रशासनलाई लिखित रूपमा जानकारी गराएको छ । क्याम्पसले सूचना निकालेर घोषित सबै चुनावी कार्यक्रम स्थगित गरिएको
जनाएको छ । क्याम्पसले सूचना जारी गरेलगत्तै अनेरास्ववियुले निर्वाचन कार्यालय तोडफोड गरेको छ ।

वाल्मीकि क्याम्पसमा आगजनी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी कार्यक्रम अघि बढेसँगै क्याम्पसहरूमा आगजनी हुने क्रम पनि बढेको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ ।
तालाबन्दी हुनुभन्दा पहिला आफ्नोतर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अरू संगठनको उम्मेदवारी नपरेकाले निर्विरोध घोषणा गर्न माग गरेको अनेरास्ववियुले जनाएको छ । नेविसंघले भने विगतमा जस्तै यस वर्ष पनि चुनाव जित्ने निश्चित भएपछि अनेरास्ववियु आगजनीमा उत्रिएको आरोप लगाएको छ । निवर्तमान स्ववियु सभापति रमेश रिजालले कसैले माग गर्दैमा निर्विरोध घोषणा हुन नसक्ने बताए । त्रिविको कार्यतालिकाअनुुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।

स्ववियु निर्वाचन गर्न पार्टीको हस्तक्षेप

काभ्रेमा रहेका दुईवटा क्याम्पसमा स्ववियु निर्वाचन गर्न आइतबार कार्यदल गठन गरिएको छ । प्रजिअ शिवप्रसाद सिम्खडाको संयोजकत्वमा राजनीतिक दल र विद्यार्थी नेताबीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो । पनौतीस्थित इन्द्रेश्वर क्याम्पस र धुलिखेलस्थित धुलिखेल क्याम्पसमा मतदाता नामावलीको संख्यामा कुरा नमिलेपछि १२ फागुनबाट दुईवटै क्याम्पसको स्ववियु निर्वाचन कमिटीले निर्वाचन स्थगित गरेको थियो । विवाद मिलाउन आइतबार प्रजिअ सिम्खडाको नेतृत्वमा कांग्रेस जिल्ला उपसभापति अच्युत पौडेल, एमाले जिल्ला अध्यक्ष टोकबहादुर वाइवा र माओवादी केन्द्रका नेता दैवलाल घिसिङको उपस्थितिमा सबै दलका विद्यार्थी नेताबीच बसेको बैठकले विद्यार्थी संगठनका तर्फबाट एक–एकजना प्रतिनिधि रहने गरी कार्यदल गठन गरिएको हो । साभार : नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.