बाबुरामलाई खुलापत्र: बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो

बाबुरामलाई खुलापत्र: बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो

श्री डा. साहेव नमस्कार,
आराम छु, आराम चाहन्छु ।

लामो समयपछि सरकारले स्थानीय निकायको निर्वाचन तोकेपछि मेरो मन प्रफुल्लित भएको थियो । यद्यपी अझै आशंकाहरु त छदैछन् । सरकारले स्थानीय निर्वाचन तोकेको तेस्रो दिन निर्वाचन स्थगन गर्ने तपाईको विज्ञप्ती अध्ययन गर्ने सुअवसर प्राप्त भयो । यति धेरै कष्टका साथ जातीय र क्षेत्रीय राजनीतिलाई केन्द्रभागमा राखेर तपाईले निकालकोे विज्ञप्ती पढेपछि तपाईलाई पत्र नलेखी मन मानेन र यो पत्र लेख्दैछु ।

नेपालको राजनीतिमा तपाईको स्थान उचो छ । पूर्व प्रधानमन्त्री समेत भइसकेको तपाईबाट विगतमा नेपाली जनताले धेरै आशा र अपेक्षा राखेका थिए । अझै पनि यदाकदा बाबुराम चाहिन्छ भन्नेहरु छन् । तर दुर्भाग्य तपाई आफ्नै भूमिका र कामले जनताको नजरबाट टाढिदै जानु भएको छ । यसले तपाईको भलो चाहनेहरुलाई ठूलै चोट पुर्याएको छ भन्ने मलाई लाग्दछ ।

अध्ययनमा निपुण, पेशामा सक्षम तपाई राजनीतिमा आएपछि धेरैलाई लागेको थियो– राजनीतिको गन्दकी तपाईको अगुवाईमा सफाई हुनेछ । पढे लेखेको विद्वान मानिस नेतृत्वमा गएपछि समाज रुपान्तरणमा महत्वपूर्ण काम हुनेछन् । देशमा बहुदलीय प्रजातन्त्र भर्खर आएको थियो । तपाईलाई त्यो प्रजातन्त्र ठीक लागेन, प्रजातन्त्र आएको ६ वर्ष पुग्दा नपुग्दै सशस्त्र युद्धमा लाग्नु भयो । तत्कालीन सरकारले गरेको जनविरोधी क्रियाकलापका कारण जनता असन्तुष्ट थिए, त्यही जगमा सशस्त्र युद्धप्रति जनमानसको आकर्षण बढ्यो । सशस्त्र युद्धमा तपाई सहितको तत्कालीन नेकपा माओवादीलाई जनताले साथ दिए । पार्टीको अध्यक्ष प्रचण्ड भए पनि आम जनताका नजरमा तपाई नै माओवादीको सर्वोच्च व्यक्ति जस्तो हुनुहुन्थ्यो । तपार्इंका लेख, भाषण मानिसहरुले खोजी खोजी पढ्ने गर्थे । त्यस मध्येको म पनि एक हुँ । म तपाईको विचारसँग हिजो पनि सहमत थिइनँ र आज पनि छैन । तर पनि तपाईबाट देशलाई केही हुन्छ कि भन्ने भित्री अपेक्षा मेरो पनि थियो । एक पटक देशको कार्यकारी प्रमुख तपाईँ हुनु पर्छ भनेर मैले एउटा लेख समेत लेखेको थिएँ । केही हुन्छ कि ? भन्ने मेरो अपेक्षालाई तपाईँ प्रधानमन्त्री भएपछि पुरै तुहाइदिनु भएको छ । मैले किन लेख नै लेखेर तपाईँको समर्थन गरेछु भन्ने अहिले पनि मलाई लागि रहन्छ ।

सशस्त्र युद्धकै क्रममा तपाईले राजतन्त्रसँगको सम्बन्धका बारेमा लेख्नु भएको पनि सम्झना छ । १० वर्षे युद्ध समाप्त गरी शान्तिपूर्ण राजनीतिमा आउने वातावरण बनाउन तपाईको भूमिका प्रभावकारी छ, लोकतन्त्रप्रति तपाईको विश्वास छ भन्ने धेरैलाई लागेको थियो । गणतन्त्र ल्याउनका लागि तपाईको भूमिका अवश्य छ तर जब गणतन्त्र आयो, मुलुकवासीले सात दशकदेखि आशा अपेक्षा गरेको संविधानसभामार्फत संविधान जारी भयो । त्यसपछि संसद नै छोडेर वैरागी हुने तपाईको निर्णय पछि त तपाईको शिक्षा, तपाईको व्यक्तित्व, तपाईले जनताका लागि गरेको त्याग, समर्पण लगायत धेरै कुरा देखाउनका लागि हुन् भन्ने धेरैलाई लागेको छ । कम्युनिष्ट दर्शन पढाएर धेरैलाई राजनीतिमा होम्नु भयो । सशस्त्र युद्धमा लागेर धेरैले ज्यान गुमाए, धेरैको भविष्य अन्यौलपूर्ण बनेको छ । ६/७ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बन्दुक बोकाउनु भयो, बुर्जुवा शिक्षा होइन वैज्ञानिक र व्यवहारिक शिक्षा बनाउछौ भन्नुभयो । दुखी गरिबका छोराछोरीलाई पढ्न दिनु भएन, तर आफ्नी छोरीलाई विदेशमा पढाउनु भयो । यी र यस्ता थुप्रै विषयमा अहिलेको पुस्ताले तपाईको बारेमा लेख्नेछन्, भोलिको पुस्ताले अध्ययन गर्नेछन् ।
लोकतन्त्रको जरा स्थानीय निकाय हो । २०४६ पछि स्थानीय निकायमार्फत केही सकारात्मक काम हुन थालेका थिए । बहुदलमा सबै राम्रा थिए म पनि भन्दिनँ, तर केही नराम्राको निहुँमा राम्रा कुराहरुलाई पनि पिसियो गहुँसँग घुन पिसे जस्तै ।

      २०५९ सालमा स्थानीय निकाय निर्वाचन गर्नु पर्नेमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट स्थानीय निकाय भंग गरेर कर्मचारीलाई शासन सञ्चालनका लागि जिम्मेवारी दिने काम भयो । त्यसमा सहयोगी भूमिका तत्कालीन नेकपा माओवादीले गरेको थियो । अहिले आएर विश्लेषण गर्दा स्थानीय निर्वाचन हुन नदिने तपाईँ नै पो हो कि ? भन्ने लाग्दैछ मलाई । लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन त्यसपछि हुन सकेन । संयोगवश तपाईसँगै सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा १९ वर्ष पछि यतिबेला स्थानीय निकायको निर्वाचन घोषणा भएको छ । शेरबहादुर देउवाको अगुवाई र तपाईहरुको अप्रत्यक्ष सहयोगमा स्थगित भएको स्थानीय निर्वाचन संयोगले देउवा र प्रचण्डको मिलिभगतमा बनेको वर्तमान सरकारले घोषणा गरेको छ त्यो पनि ठूलो जनदवावपछि । तर तपाईँ स्थानीय निकाय निर्वाचन स्थगित गर्न माग गर्दै प्रेस विज्ञप्ति प्रकाशित गर्दैै हुनुहुन्छ ।
तपाईले सशस्त्र युद्ध गर्ने समयमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० बुँदे माग तपाई सत्तामा गएपछि कति पूरा भए वा भएनन् यो चिठीमा म ब्याख्या गर्न गैरहेको छैन । तपाईले उठाएका माग र तपाईको कार्यशैलीका बीच कति भिन्नता रह्यो इतिहासले मूल्यांकन गर्ने नै छ । जो र जसका विरुद्ध ४० बुँदे मागपत्र देउवालाई थमाइदिएर १७ हजार गरिव नेपालीका छोराछोरीको लास लडाउनु भयो, आज त्यसैको रणनीतिक सेवामा तपाईंको राजनीतिका हरेक कदम देखिएका छन् । अर्थात्, सशस्त्र युद्धमार्फत यहाँको निर्णयकारी शक्तिमा दक्षिणलाई स्थापित गराउनु रहेछ भन्ने करिव करिव पुष्टि भइसकेको छ ।
२०५४ सालपछि स्थानीय निकायको निर्वाचन भएन । २०५४ सालमा गाउँ विकास समितिको वडा सदस्यमा निर्वाचित भएकी एक जना महिला यदि लगातार स्थानीय निर्वाचन भएको भए २०५९ मा वडा अध्यक्ष, २०६४ मा गाविसको उपाध्यक्ष, २०६९ मा गाविसको अध्यक्ष र २०७४ सालमा जिल्लाको सदस्य वा त्यो भन्दा माथिल्लो पदमा लड्ने गरी नेतृत्व विकास गरी सकेकी हुन्थिन् । महिलाको नेतृत्व विकाससँगै युवाहरुलाई राजनीतिमा आउने वातावरण कति धेरै बन्थ्यो होला । स्थानीय निर्वाचन नभएका कारण धेरै युवाहरु विदेशतिर लागे । क्याम्पस पढ्दा राजनीतितर्फ आकर्षित भएका युवा विद्यार्थीहरु राजनीतिममा आफ्नो भविष्य नदेखेर विदेशिने वा अन्य सामाजिक संघ संस्थामा संलग्न हुनु पर्ने वाध्यता भयो । २०५४ सालमा वडा सदस्य भएको युवालाई आज पनि त्यही वडा सदस्यमै चित्त बुझाउनु पर्ने अवस्था किन आयो ? त्यसका पछाडि राजनीति गर्ने ठाउँ स्थानीय निकायको निर्वाचन नहुनु मुख्य कारणका रुपमा रहेको छ ।
आज धेरै युवाहरु कुलतमा लागेका समाचारहरु आइरहेका छन् । कुलत रोक्नका लागि राजनीति सहयोगी बन्दछ । तर राजनीतिमा भूमिका देखाउन नपाउने अवस्था भएपछि अर्थोक नै गर्नुको विकल्प पनि त भएन । २/३ दशकदेखि नै एकै खाले व्यक्तिहरु राजनीतिको केन्द्रविन्दुमा छन् । समाजमा केही गरेर देखाउँ भन्नेहरुले स्थान नपाएपछि मुलुक अस्तव्यस्त हुनुको विकल्प रहेन । यस्तो अवस्थाबाट पार लगाउने वातावरण सिर्जना गर्नुको सट्टा तपाईं निर्वाचन स्थगनको नारा उराल्दै हुनुहुन्छ । नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा मान्छेले बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ कारण सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।
स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दा, दलीय भागवण्डामा सञ्चालन गर्दा राम्रो परिणाम देखिएन । हिजो दलीय भागवण्डा गर्नेमा तपाई पनि हुनुहुन्थ्यो, आज भागवण्डामा नपर्ने भएपछि विज्ञप्ती मार्फत विरोध गरिरहनु भएको छ । मुलुकको राजनीतिलाई अराजनीतितर्फ धकेल्ने, राजनीतिलाई कमाउ धन्दा बनाउने, राजनीतिलाई व्यापार बनाउने अभियानमा डा.साहेव तपाईको कतै भूमिका छैन ? राजनीतिलाई अपराधीकरण गराउनेमा तपाईको कुनै साइनो सम्बन्ध छैन ? विगत स्मरण गर्नुस, जनताले साचेर राखेका छन् । तपाईले भनेका र गरेका कामका बीचको भिन्नता नेपाली जनताका मनमनमा छ ।

baburam

तपाईले उठाउदै आएको विपन्न, अल्पसंख्यक, पछाडि परेका र पारिएका जातजाति, धर्म संप्रदायका मानिसहरुलाई न्याय दिनु पर्छ, उनीहरुका हक अधिकार सुनिश्चित गर्नु पर्छ भन्ने विषयमा मेरो मात्रै होइन, अहिलेको संविधानले पनि समर्थन गरेको छ । तर तिनै विषयलाई संस्थागत गर्ने काम भाँड्दै जातीय क्षेत्रीय विद्वेषलाई आधार बनाएर तपाईले गरेको राजनीति देख्दा लाग्छ, तपाईको बोली र व्यवहार विपरित छ ।     ‘जनयुद्ध’मा प्रचण्डका कारण कति लागे होलान् तर मलाई लाग्छ धेरै मानिसहरु तपाईलाई देखेर लागे । २०२८ सालको एसएलसीमा बोर्ड फस्ट भएको एक सफल इञ्जिनियर यसरी व्यक्तिगत स्वार्थ त्यागेर राजनीतिमा लागेको भनेर तपाईको पछि लाग्नेहरु, समर्थन गर्नेहरु धेरै थिए । तर जब तपाई सत्तामा जानु भयो, देशको कार्यकारी प्रमुख हुनु भयो अनि तपाईले देखाउनु भएका क्रियाकलाप, संविधान जारी हुन नदिन तपाईंले देखाउनु भएको सक्रियता । संविधान रोक्न भारतले पठाएका विशेषदूतको रणनीति सफल पार्न तपाईंले खेलेको खेल । संविधान जारी भएपछि धेरै पहिचानका जनता बस्ने तराईलाई एउटा मधेस प्रदेश र पहाडमा जाति नै पिच्छेका पहिचान अझ जातिमा पनि उपजाति खोज्न तपाईंले गरेको मेहेनतको अर्थ अब कसैले नबुझेको होला र ? यति भूमिकाका आधारमा तपाईंलाई विद्वेषको बाहक र विभाजनको सुत्रधार किन नभन्ने ? तपाईको भूमिका र स्थानीय निर्वाचन घोषणापछि तपाईले प्रकाशित गरेको विज्ञप्तिले आम मानिस मात्रै होइन, तपाईबाट अझै पनि परिवर्तन संभव छ भने मध्येका ९ जना केन्द्रीय परिषदका सदस्यहरुले काउण्टरमा विज्ञप्ति प्रकाशित गरेबाटै पुष्टि हुन्छ कि तपाईको राजनीतिक यात्रा गलत बाटोमा छ ।
जुनसुकै काम गर्दा चुनौतीहरु छन्, चुनौती बिनाको सफलता संभव छैन । आजको युगमा विरोध नहुने काम पनि कहि फेला पर्दैन । मानिस विरामी हुन्छ, कहिलेकाही कडै रोग लाग्छ, त्यसको उपचार गर्नुको सट्टा मानिसलाई नै मारेर फालिदिने नीति तपाईले लिनु भएको छ । सरकारले घोषणा गरेको निर्वाचनका लागि समस्या छन्, चुनौती छन्, दुविधाहरु छन् ।

तर के समस्या छन् भन्ने नाममा निर्वाचन स्थगन गर्नु समस्याको समाधान हो ?
डा. साहेव २० वर्ष निर्वाचन हुन नदिन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका तपाईले खेल्दै आउनु भयो । प्रधानमन्त्री भएको समयमा स्थानीय निकाय निर्वाचन अपरिहार्य छ भन्ने तपाई नै होइन र ? तर यतिबेला स्थानीय निर्वाचनका लागि वाधक बन्ने गरी विज्ञप्ति प्रकाशित गरेर तपाईले आम जनताको भावनाप्रति अन्याय गर्दै हुनुहुन्छ । आफ्नै गलत भूमिका र खराव दिशाका कारण हुन त तपाईं नेपाली राजनीतिमा निर्णायक हुनुहुन्न अहिले । तपाईंको पछाडि उभिएको छ र तपाईं जसको मोहरा बनेर आउनु भएको छ, त्यसलाई त पराजित गरौंला भन्ने मनोवलमा नेपाली पुगिसके भने तपाईंले भाँडेर चुनाव भाँडिने विश्वास छैन । भलै आफूले कुनै दिन आशा गरेर प्रसंशा गरेको पात्र यसरी समाप्तिको बाटोमा हिंडेकोमा दुःख लागेर मात्रै यति अनुरोध गरेको हुँ ।

तपाईले विज्ञप्तिमा उठाएका ६ वटा विषय गंभीर छन् । यसमा सरकार र मुख्य राजनीतिक दलहरु पनि गंभीर भएर यसको समाधान गर्नु पर्छ । यो समस्याको समाधानमा एउटा जिम्मेवार राजनीतिक दलको प्रमुख, देशको कार्यकारी प्रमुख भइसकेको व्यक्ति र जिम्मेवार नागरिकका हिसावले तपाईको पनि भूमिका हुनु पर्छ । समस्या समाधानका लागि सहयोगी बन्नु पर्ने तपाई विषयलाई बल्झाउनमा सहयोगी बन्दै हुनुहुन्छ । यसले तपाईलाई जनताबाट टाढा लैजादै छ भन्ने ठानेर मैले यो पत्र तपाईलाई पठाउँदै छु ।

राजनीतिक परिवर्तनका लागि धेरैले त्याग गरे । यो परिवर्तनमा तपाईको पनि  भूमिका छ । अब आर्थिक परिवर्तन, सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्न जरुरी छ । त्यसका लागि स्थायी प्रकारको राजनीति आवश्यक छ । त्यसो गर्नका लागि गणतन्त्रको संस्थागत विकास नै हो र गणतन्त्रको संस्थागत विकासका लागि स्थानीय तहलाई थप प्रभावकारी र व्यवस्थित गराउन जरुरी छ । केन्द्रीकृत राज्य सत्तामा भएका अधिकार विकेन्द्रित गर्ने गरी संघीय संरचनालाई व्यवस्थित गर्नु पर्नेछ । त्यसका लागि संविधान कार्यान्वयन प्रमुख विषय हो । संविधान पूर्ण छ म भन्दिनँ । तर संविधान संशोधनको प्रक्रिया पनि त संविधानमै उल्लेख छ । बल मिचाई गरेर, धाक धम्की देखाएर, सांसदहरुलाई खरिद विक्री गरेर संविधान संशोधनतर्फ लाग्ने कि ? आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचन सफल गराउन भूमिका खेल्ने ? यसैबाट व्यक्ति र पार्टीको भूमिका प्रष्ट हुन्छ । आगे तपाईको मर्जी ।

उही तपाईको शुभेच्छुक,

रामबहादुर जीसी
बागलुङ    

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.