महाशिवरात्रि धुमधामले मनाइँदै

महाशिवरात्रि धुमधामले मनाइँदै

शिव उत्पत्ति भएको रातबाटै महाशिवरात्रि

महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर धुमधामका साथ मनाइँदैछ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व जगतको कल्याण गर्ने तत्वले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ । राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *