समूह चरणको खेलमा नेपाली महिला भलिबल टोली अपराजित

समूह चरणको खेलमा नेपाली महिला भलिबल टोली अपराजित

काठमाडाैं।साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । ढाका मिरपुरस्थित साहिद इन्डोर रंगशालामा सम्पन्न एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले जितेको थियो ।

नेपालले दोस्रो सेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै २५–१४ ले आफ्नो पक्षमा पार्‍यो । कीर्गिस्तानले नेपाललाई कुनै पनि सेटमा चुनौती दिन सकेन । नेपालले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै किर्गिस्तानविरुद्ध तेस्रो सेट २५–१६ ले जित्यो । अब नेपालले मंगलबार राउन्ड रोविन लिगको उपविजेता उज्वेकिस्तानसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणमा उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले दुई वर्षअघि बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई फाइनलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेको थियो ।

यसैबीच, उज्वेकिस्तानले सोमबार नै श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । लिग चरणमा अपराजित रहेको नेपालले पाँच खेलबाट सर्वाधिक १४ अंक जोड्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ११ अंक जोड्यो । समान ११ अंक नै रहे पनि सेटमा श्रीलंका पछि प¥यो । किर्गिस्तानले ६ अंक बनायो । माल्दिभ्स र बंगलादेशले एक जित पनि निकाल्न नसक्दा अंकविहीन रहे । राउन्ड रोविन लिगमा नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३–२ को कठिन जित निकालेको थियो ।

त्यसपछि खेलमा नेपाली महिला भलिबल टोलीले एक सेट पनि गुमाएन । नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । श्रीलंका र किर्गिस्तानबीच तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ । २३ डिसेम्बरबाट सुरु भएको च्याम्पियनसिपमा महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *