“अखबारमा”

“अखबारमा”

“अखबारमा”

भैँसीको दूध बेचेर,
पाँच वर्षको छोरा श्याम बहादुरलाई
शहर पढ्न पठाए थिइन आमाले
नयाँ जीवनको आशमा।

छोरो एक अञ्जुली खुसी लिएर
फर्किएला भन्दाभन्दै वर्षौं-वर्ष बिते
तर
निभेन कहिलै आमाको आँखामा
सल्किएको आशाको ज्योति

लज्जावती फूलका काँडाले हत्केलामा
आफ्नो साम्राज्य बनाइसक्दा पनि
आफ्नै पैताला संग प्रेममा फसेको
बेल र डम्फरको काँडाले
बारम्बार सताईरहँदा पनि नझरेका आँसु
आमाका बुढा आँखा सल्बलाउन थाल्थे
जब देख्दिन थिन घर
अगाडि ठूलो पिपल बोटको
हरियो हाँगामा बसेर
छोराको खबर सुनाउने कौवालाई

दसौं थान साडीका टुक्राटुक्रा
जंगलभरी बाँडेकी थिइन् आमाले
छोराको पर्खाइमा बस्दाबस्दै
त्यही बूढो घर भित्ताबाट
तारा संग भलकुसारी गर्दै
सयौं रात बिताएकी थिइन
झरी, चट्याङ , भोकसंग मितेरी गास्दै
छोरोले पढिसक्यो
सायद काम गर्दै छ
सायद मलाई लैजाला उसको शहरमा
यस्तै यस्तै थुप्रै सपनाका युद्ध संग
पराजित भएपछि,
कोहि महान परोपकारीको हात समाएर
शहरकै एउटा आश्रम पुगेकी थिइन् आमा।

त्यो दिन ,
पुर्वबाट नयाँ सुर्य उदाएछ क्यारे
मध्याह्न दिनमा रेडियो नेपालले समाचार फुक्यो
गैरी गाउँका श्यामे
उत्कृष्ट उद्यमी तथा समाजसेवी
पदकबाट सम्मानित ।।
भत्-भत् पोलेको छातीमा मल्हम बनी
खुसीको किरण छरेर चारैतिर
आमाका पीडा/वेदना/छट्पटी लिएर
अस्तायो सुर्य ।
भोलिपल्ट
अखबारको पहिलो पेजमा
ठुला-ठुला दुई तस्वीर झुल्किन्छन्
एउटा
खुसीको चुचुरो चुम्दै गरेको
समाजसेवी श्याम बहादुर
अर्को,आमाको तस्बिर
जसमा लेखिएको थियो
“हार्दिक श्रद्धाञ्जली”

———–|एक प्रयास |पुस्तकका लागि रचित कविता, रचयिता सिर्जना….. (धनकुटा हाल विराटनगर)

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *