काठमाडौं । आज १९ औँ लोकतन्त्र दिवस । लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाइँदै छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते विगठन गरेको संसद् पुनः स्थापना गरी हातमा लिएको शासन सत्ता २०६३ वैशाख ११ गते नेपाली जनताले फिर्ता लिएको दिनको रूपमा लोकतन्त्र दिवस मनाउने गरिन्छ । विसं २०६२÷०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
लोकतन्त्र दिवसको अवसरमा आज नेकपा एमालेले काठमाडौंमा ‘यूथ सेलिब्रेशन’ गर्दै छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउँदै छ ।
सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ । कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताउनुभयो । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने तयारी छ । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमको सहजीकरण गरिरहनुभएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ । आजको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने ढुङ्गेलले बताउनुभयो । कार्यक्रमबाट निस्किँदा सहभागीले नयाँ सन्देश लिएर फर्कने उहाँले दाबी गर्नुभयो ।