बिराटनगर ।  सहमतिबाट नेतृत्व चयन गर्न  नसकिने भएपछि नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी ओलीसहित नेतााहरुको समर्थन पाएका राजकुमार ओझा र एमालेका सल्लाहकार रहेका विनोद ढकालको समर्थन पाएका अजम्बर राईको नेतृत्वमा सोमबार छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता भएको हो । निर्वाचनमा प्यानल नबनाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीसहितका नेताहरुले नै दबाब दिएका थिए । अधिवेशन उद्घाटनमा बोल्ने उपाध्यक्ष रामबहादुर थापासहितका नेताहरुले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । प्रदेशसभाको पहिलो कार्यकालमा सांसद र राज्यमन्त्री भएका ओझाले आफूलाई पार्टीको आधिकारिक उम्मेदवार बताउँदै आएका छन् । सो टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

अध्यक्षको उम्मेदवार बनेका अजम्बर राई पुराना नेता हुन् । उनी जिल्ला समन्वय समितिको सभापति छन् ।  यो टिमबाट उपाध्यक्षमा सागर थापा,  उपसचिवको उम्मेदवार सन्तोष वान्तवा  र अर्का उपसचिव उषा झाको उम्मेदवारी परेको छ ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमितिको दोब्बर बढिको मनोनयन दर्ता भएको निर्वाचन समितिले बताएको छ । तर, पदाधिकारीबाहेक अन्यको हकमा सर्वसम्मत बनाउने प्रयास भइरहेको बताइन्छ । एमाले अधिवेशको निर्वाचनको निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् । एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मंगलबार दिउसो १ देखि २ बजे भित्र  मतदान हुने जानकारी दिए ।