विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता तथा संघीय सांसद डा. शेखर कोइरालाले कमजोर आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाल बद्नाम हुँदै गएको बताएका छन् ।
मोरङको बूढीगंगा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको उद्घाटन गर्दै सांसद कोइरालाले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न रिपोर्टका कारण देशलाई अफ्ठ्यारोमा पारेको बताए । ‘देशको आर्थिक अवस्थामा कमजोर हुँदै गएको छ । उत्पादकत्व वृद्धि हुन सकेको छैन । परनिर्भरता बढ्दै गएको छ,’ उनले भने, ‘अर्कातिर ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई), सीपीआईलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको रिपोर्टले नेपालमा भ्रष्टाचार व्यापक मात्रामा बढेको देखाएको छ । यसले अन्तर्राष्ट्रियस्तरमा देश बद्नाम भएको छ । देश अफ्ठ्यारो अवस्थामा परेको छ ।’ नेता कोइरालाले सीपीआईको पछिल्लो रिपोर्टले विश्वका १८० मुलुकमध्ये नेपाल १०० मा ३४ अंकका साथ बढी भ्रष्टाचार हुने मुलुकको १०७ औं स्थान पर्नुले लज्जाको विषय भएको उनको टिप्पणी थियो ।
नेता कोइरालाले भ्रष्टाचारविरुद्ध निर्मम हुनु आवश्यक रहेको औंल्याए । देशमा सुशासन नभएकै कारण राजनीतिप्रति जनताको वितृष्णा बढ्दै गएको नेता कोइरालाले प्रस्ट पारे । सुशासन, पारदर्शिता, जिम्मेवारीबोध नहुँदा विकासले गति लिन नसकेको उनको कथन थियो । नेता कोइरालाले भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध जनता एकजुट भएर लड्नुपर्नेमा जोड दिए । ‘जस्तोसुकै परिस्थिति आए पनि देश नेता र जनता मिलेरै बनाउने हो,’ नेता कोइरालाले थपे, ‘यो देश हामीले नै हो बनाउने, देशभित्रै बसोबास गर्नेले बनाउने हो । विदेशी आएर बनाउने होइन । त्यसो भएकाले सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नु जरुरी छ ।’
कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले हरेक वर्ष विश्वविद्यालयले ५ सय रोजगारी सिर्जना गर्नेगरी काम गरिरहेको जानकारी दिए । उनले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै उत्पादित जनशक्तिले रोजगारी पाउने दाबी गरे । उनले बूढीगंगा गाउँपालिकासँग मिलेर रोजगारमूलक तालिम र शिक्षा दिन विश्वविद्यालय तयार रहेको प्रस्ट्याए । बूढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सुनाए । उनले अस्पतालको फार्मेसीबाट बिमामार्फत उपलब्ध हुने ५ सय र गाउँपालिकाले छुट्टै ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको जानकारी दिए । अध्यक्ष थापा मगरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सुविधासम्पन्न आकर्षक पार्क निर्माण, महिला उद्यमी ग्रामले चाँडै नै मूर्त रुप लिने जानकारी दिए ।