विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।

सन्दिपले खेलाडी आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ। सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए सोहि विषय आचारसंहिता विपरित भएको बताउँदै क्यानले कारबाही गरेको हो ।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन्।

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ।