विराटनगर । कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त शर्माले बिराटखबरलाई बताएका छन् ।
राय सहितको अनुसन्धान प्रतिवेदन ६ सय पेज लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ( जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको डीएसपी शर्माले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको बिराटखबर सँग पुष्टि गरे । यो मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशी लगायत पनि प्रतिवादी छन् ।
समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । बाँकी रकम विभिन्न व्यक्तिको नाममा ऋण लिएर गोर्खा मिडिया नेटवर्कमा लगेको भेटिएको थियो ।
थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थली स्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।