विराटनगर । मोरङको कटहरी गाउँपालिकाले सरकारी जागिरमा जान चाहने युवालाई लोकसेवाको परीक्षा प्रशिक्षण दिन थालेको छ ।

लोकसेवा आयोगको परीक्षा दिन चाहने युवालाई सोमबार देखि ४५ दिने तालिम सुरु गरिएको छ  । तालिममा लोकसेवाको परीक्षा दिन चाहने ६० जना सहभागी छन् ।

गाउँका युवामा सेना र प्रहरीमा मात्रै आकर्षण रहेकाले लोकसेवाको परीक्षामा सामेल गराउने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ । शिक्षित युवा खाडी मुलुकमा गएर काम गर्ने भन्दा पनि नेपालमै सरकारी जागिर खाएर खुसी हुन सकून् भन्ने उद्देश्यले तालिम दिइएको पालिकाले जनाएको छ ।

पालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार सेना, प्रहरीमा नभएर कुबेत जाने चलन रहेकाले त्यसलाई कम गर्न युवालाई लोकसेवाको आकर्षण दिइएको हो । उनको घर भएको गाउँमा धेरैजसो घरमा युवाहरू नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत छन् ।  उनका अनुसार सुरक्षा निकायमा जान चाहने युवाहरूका लागि पनि अलग्गै निःशुल्क तालिम पालिकाले दिने तयारी गरेको छ ।  परम्परागत मजदुरी र त्यसबाट पाइने प्रतिफलले धान्न नसक्ने अवस्था आएपछि गाउँले युवालाई सरकारी सेवामा प्रेरित गर्न थालिएको छ । सेवा प्रवेशका लागि स्थानीय सरकारले निःशुल्क प्रशिक्षण दिन थालेको छ ।