वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह
जीवनको अस्तित्व रहेको अनुमान
खगोलशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन्, जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् ।
थप अनुसन्धानका लागि महत्वपूर्ण
पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ ।
निकै नजिक
पत्ता लगाइएका सातवटै नयाँ ग्रहहरू एक–अर्काबीच नजिक रहेको अनुसन्धान समूहका प्रमुख लेखक माइकल गिलोनले बताए । ‘सातैवटा ग्रहको तापक्रम मध्यम छ, त्यहाँ पानीको सतह भएको र जीवनको अस्तित्व रहेको हुन सक्छ,’ उनले भने । नयाँ ग्रहहरूमा पानी तथा जीवनको अस्तित्व नभए पनि अध्ययनका लागि भने रोचक हुने उनले बताए । ट्रयापिस्ट वान भने निकै सानो रहेको उनको भनाइ छ । अहिलेसम्म तीन हजार चार सय ४९ वटा ग्रह पत्ता लागेको नासाले जनाएको छ ।
महत्वपूर्ण फड्को
नयाँ खोज महत्वपूर्ण भएको म्यासाचुसेस्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक सारा सिगरले बताइन् । ‘नयाँ अनुसन्धानसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र त्यहाँ जीवनको अस्तित्व खोज्ने दिशामा एउटा नयाँ फड्को मारेका छौँ,’ उनले भनिन् । एकैपटक धेरै ग्रह पत्ता लागेकाले अनुसन्धानका सम्भावना पनि धेरै भएको उनले बताइन् । गिलोनको समूहले सन् २०१५ देखि नै ट्रयापिस्ट वानप्रति रुचि राखेको थियो ।