बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका बालेन्द्र साहले उँधोमुन्टो लगाएर रुखमा झुण्ड्याउनुपर्ने ठेकेदारलाई रुपन्देही क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यको टिकट राष्ट्रिय स्वतन्त्र पार्टी दिएको छ ।
साहले दुई दिनअघि धनगढीमा आयोजित चुनावी सभामा अलपत्र पार्ने ठेकेदारलाई रुखमा बाँधेर राख्नुपर्ने बताएका थिए । रुपन्देही क्षेत्र नं. ५ का रास्वपा उमेदवार तौफिक खान बुटवलमा सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार हुन् ।
बुटवल बजार क्षेत्रमा सडक विस्तारको कामको जिम्मा लिएको पहिलो ठेकेदार द कन्चन्जंघा बिरुवाले काम अलपत्र पारेपछि दोश्रोपटक टेण्डर गरिएको थियो । पुरानो ठेक्का तोडिएपछि गरिएको दोश्रो टेण्डर २०८१ साल असोज १८ गते बाबुल दर्शन मालिका जे भीसँग एक बर्षमा सिध्याउने गरी नयाँ ठेक्का सम्झौता गरिएको थियो । बाबुल दर्शन रास्वपा उमेदवार तौफिक खानको कम्पनी हो । अहिले उनले उक्त कम्पनी भाइलाई जिम्मा लगाएर चुनाव प्रचारमा लागेका छन् ।
दोश्रो पटक ठेक्का लगाउँदा एक वर्षमा सम्पन्न गर्ने गरी बाबुल दर्शन मालिका जेभीले भ्याटसहित ३३ करोड रुपैयाँमा सडक निर्माणको सम्झौता गरेको थियो । तौफिक आफैले सडकको ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । गत असोजमा सम्पन्न हुनुपर्नेमा नसकेपछि सो कम्पनीलाई ६ महिना म्याद थप भैसकेको छ ।
२०७३ सालमा सडक निर्माणको काम द कञ्चनजङ्घा बिरुवा जे भी काठमाडौँले ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता गरे पनि ८ वर्षमा पनि पुरा नगरेपछि ठेक्का तोडिएको थियो । दोश्रो ठेकेदार पनि चुनावतिर लागेपछि कहिले पुरा हुने हो अन्यौल नै देखिएको छ । बालेन्द्रले दुई बर्षमा बन्नुपर्ने सडक डेढ बर्षमै पुरा हुनुपर्ने भन्दै धनगढीमा ‘सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्नेहरूलाई रूखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ काम गराउनुपर्छ’ भनेका थिए । रुखमा बाँधेर काम गराउनुपर्ने ठेकेदार सडक अलपत्र पारेर बालेन्द्रलाई प्रधानमन्त्री बनाउन चुनावमा होमिएका छन् । चुनावपछि बालेन्द्रले तौफिकलाई रुखमा बाँध्छन् कि म्याद थप्न लगाएर पुरस्कृत गर्ने हुन् त्यो त हेर्न बाँकी नै छ ।