विराटनगर। विराटनगरको रोडशेष चोकमा डोजरको ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त भिडलाइ नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको छ।
सडक निर्माणमा खटिएको डोजरले महेन्द्र मोरङ क्याम्पसमा बिबिएस दोश्रो बर्षमा अध्ययरत सुरज यादवलाई ठक्कर दिएको थियो। यादव पढाइ सकेर घर जाँदै गरेको अवस्थामा डोजरले ठक्कर दिएको बताइएको छ। ठक्करबाट विद्यार्थी घाइते भएपछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको हो।
घटनापछि आक्रोशित विद्यार्थीले डोजरमा तोडफोड तथा आगजनी गर्ने प्रयास गरेपपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।