विराटनगर  । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् ।

पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले साधारणसभा रोक्न अल्पकालिन अन्तरिम आदेश गरेपछि रोकिएको थियो ।

पुस १५ मा न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि महासंघको साधारणसभा गर्न बाटो खुलेको थियो । त्यसपछि महासंघको साधारणसभा नै विराटनगरबाट विर्तामोड सारिएको थियो ।

सोमबार सम्पन्न साधारणसभा तथा अधिवेशनबाट महासंघको उपाध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन भएका हुन् ।महासंघको विधान अनुसार प्रदेशमा दुईजना उपाध्यक्ष रहन्छन् । जसमध्ये जिल्ला उपाध्यक्षतर्फ इटहरी उद्योग वाणिज्य महासंघका अध्यक्ष भीम पौडेल सर्वसम्मत भएका छन् ।

महासंघको कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठी पनि पुनः निर्विरोध चयन भएका छन् । त्यसैगरी महासंघको जिल्ला, एसोसिएट र वस्तुगत गरी नौ सदस्य पदमा जिल्ला संघ मध्येबाट युवराज शाक्य (संखुवासभा), कुमार भट्टराई (विर्तामोड), भूपालराज कटुवाल (गौरादह), पृतम खड्गी (उर्लाबारी) र वीरेन्द्रकुमार साह (इनरुवा) निर्विरोध चयन भएका छन् ।

वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र सुवास आचार्य चयन भएका हुन् । एसोसिएट सदस्यमा रविन दाहाल र श्रवणकुमार अग्रवाल सर्वसम्मत रुपमा चयन भएको जनाइएको छ ।