डम्बर कुमार न्यौपाने
विराटनगर । मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिपले जानकारी विना नै मजदुर निकालेको छ । उद्योगले पटक पटक गरेर १ सय ८४ जना कामदार निकालेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए ।

उद्योगले विना जानकारी मजदुर निकाले पछि मजदुरहरु आक्रोशित भएका छन् । आक्रोशित हुँदै मजदुरहरुले आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।
उद्योगले कामदार निकाले पछि पुस १२ गते मजदुरहरु क्षतिपूर्ती सहित काम दिलाइ पाऊँ भन्दै श्रम कार्यालय पुगेका थिए । पुस १२ मा नै  श्रम कार्यालयले कामदारलाई पुनः बहाही गर्न उद्योगलाई पत्र काटेको थियो । तर उद्योगले श्रमको पत्रको अवज्ञा गर्दै प्रवेश गर्न नदिए पछि मजदुरहरु बिहिवार पुनः श्रम कार्यालय पुगेका छन् ।
३ वर्ष देखि आरती स्ट्रिपमा काम गर्दै आएका सुरज यादवका अनुसार नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गरेको हो । लामो समय देखि काम गर्दै आएका कामदारलाई नेपाल कारखाना श्रमिक सङ्घ इकाई समितिमा हस्ताक्षर गरेकै आधारमा उद्योगले कामबाट निस्कासन गर्नु दुःखद रहेको नेपाल श्रमिक कारखाना संघका जिल्ला अध्यक्ष श्रीप्रसाद साहले बताए ।
उनले भने ‘फेरी पनि श्रमको चिठीलाई उद्योगले अवज्ञा गरेको खण्डमा र श्रमले पनि न्याय दिलाउन आनाकानी गरेको खण्डमा जस्तोसुकै आन्दोलनका कार्यक्रम गर्न पछि हट्ने छैनौँ ।’ उनले भने, ‘आज श्रम कार्यालयको निर्णय पर्खिरहेका छौँ ।’