सप्तकोशी नगरपालिकाका विभिन्न वडामा राहत वितरणमा अनियमितता भएको खबर सार्वजनिक भएका बेला वडा नं. ९ ले भने निश्पक्ष रुपमा सबैलाई समेटेको दाबी गरेको छ। नगरपालिकाले दोस्रो चरणको राहतमा एक जना बराबर ७ किलो चामल, १ किलो दाल, १ घर बराबर १ लिटर तेल, २ किलो नुन बितरण गर्ने निर्णय गरेको थियो।
९ नं. वडामा २७२ घरधुरी तथा १३९१ व्यक्तिहरुलाई राहत वितरण गरिएको थियो। वडाध्यक्ष चन्द्र नारायण यादव भन्छन् “हामीले विवाद हुन नदिन पुर्व तयारी गरिसकेका थियौँ। मैले समन्वयको कार्य मात्र गरेर सम्पूर्ण जिम्मेवारी सम्पूर्ण राजनीतिक दलका प्रतिनिधी, स्थानिय अगुवा, विपद् व्यवस्थापन समितिलाई दिएँ। राहत वितरण सम्पन्न भयो। केही छुटेका नामहरु पनि समायोजन भयो अहिले केही असन्तुष्टि छैन।” राहत वितरणको प्रयोजन हेतु नामावली संकलनका बेला भने हुने खानेले पनि राहतको लागि दाबी गर्ने गरेको उनको भनाई थियो।
राहत वितरणका बेला वडा कार्यायलमा ३ फिटको दुरीमा गोलो घेरा लगाएर उभिने व्यवस्था गरिएको थियो। भिड नियन्त्रण तथा स्थानियहरुलाई पंत्तिबद्ध गर्न भने स्वयंसेवकलाई हम्मे हम्मे परेको थियो। विपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधि दामोदर यादवले समग्रमा दोस्रो चरणको राहत वितरण कार्य सफल भएको बताए।